

देवचुली। देवचुली नगरपालिकाको वडा नम्बर ६-९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहीबार देवचुली नगरपालिकाको आयोजना र देवचुली मिडिया प्रालिको संयोजनमा देवचुली ७ को वडा कार्यालय परिसरमा सार्वजनिक सुनुवाई गरिएको हो । साविक देवचुली गाविसको भूगोलमा पर्ने वडाका जनतासँग आर्थिक वर्ष २०८२/०८३ को विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्बन्धमा कार्यक्रम गरिएको हो ।

सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले भौतिक पुर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा गुनासा, समस्या, जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको नगर प्रमुख हरिप्रसाद न्यौपाने , प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जवाफ दिनुभएको थियो । त्यसै गरि देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा तथा शाखा प्रमुखहरुले समेत उठेका सवालहरुको जवाफ दिनुभएको थियो ।
प्रश्नकर्ताले सिंचाई, कृषि, बाटोघाटो, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, महिला, वनजंगल, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा नीतिगत तथा व्यवस्थापकीय धारणाका विषयमा सोधेका थिए । नगर प्रमुख न्यौपानेले सार्वजनिक सुनुवाईमार्फत जनताले प्रत्यक्ष रुपमा व्यक्त गरेका गुनासा, समस्या लगायतका प्रश्नले आगामी दिनमा आफुहरुलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उप प्रमुख पार्वता तिवारीले सार्वजनिक सुनुवाइ महत्व र नगरपालिकाले गरेका सेवा प्रवाहमा जनताबाट आवश्यक सुझाव लिई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्न सहज हुने भएकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएको जानकारी दिनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले यस आर्थिक वर्षको चैत मसान्तसम्म नगरपालिकाले गरेका शाखागत प्रगति विवरणबारे जानकारी गराउनुभएको थियो ।
वडा नं. ७ र ८ को वडा कार्यालय परिसरमा भएको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष मिनबहादुर सोती मगर, वडा नं. ७ का अध्यक्ष भूमीसरा थापा, वडा नं. ८ का अध्यक्ष नुनप्रसाद बाचे मगर र वडा नं. ९ का अध्यक्ष बलिराम सापकोटा सहित नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख एवं कर्मचारी, विभिन्न राजनैतिक, सामाजिक, संघसंस्था, टोलविकास, क्लब, समूह, सञ्चारकर्मी लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण पत्रकार विष्णु गौडेलले गर्नुभएको थियो ।
