आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

देवचुली १-५ को सार्वजनिक सुनुवाई सम्पन्न

    प्रकाशित २०८३ बैशाख २२, मंगलबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकाको वडा नम्बर १-५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार देवचुली नगरपालिकाको आयोजना र देवचुली मिडिया प्रालिको संयोजनमा देवचुली ३ स्थित सेतीदेवी मन्दिर परिसरमा सार्वजनिक सुनुवाई गरिएको हो । साविक दिव्यपुरी गाविसको भूगोलमा पर्ने वडाका जनतासँग आर्थिक वर्ष २०८२/०८३ को विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्बन्धमा कार्यक्रम गरिएको हो ।


देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप–प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, वडाध्यक्षहरु, वडा सदस्य र देवचुली नगरपालिकाका विभिन्न शाखा प्रमुख एवम् नगरपालिकाका कर्मचारी, स्थानीयहरुको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाइ उपस्थित स्थानीयले चौधरी उद्योगको प्रदुषण रोक्नुपर्ने, उद्योगसँग उठाउनुपर्ने कर तत्काल नगरपालिकाले उठाउन पहल गर्नुपर्ने, प्रदुषण रोक्नका लागि नगरपालिकाले उद्योगलाई ध्यानाकर्षण गराउनुपर्ने, उद्योगले सार्वजनिक कुलाहरु कब्जा गरेको सरकारी जग्गा फिर्ता गराउन पहल गर्न साथै उद्योगले तत्काल प्रदुषण नियन्त्रणका लागि स्थानीयसँग गरिएका सम्झौता लागू गर्नुपर्ने विषयमा आवाज उठाएका थिए । त्यसै गरि शिक्षा, स्वास्थ्य, बाटोघाटो व्यवस्थापन, विद्युत, कृषिमा आवश्यक अनुदान लगायतका विषयमा माग र स्थानीय सरकारको ध्यानाकर्षण रहनुपर्ने बताएका थिए । नगर अस्पतालमा सुधार गर्नुपर्ने सेवाहरु, पर्यटकीय पुर्वाधारमा जोड दिनुपर्ने, बौलाहा खोला र नारायणी नदीबाट हुने कटानका समस्या लगायतका विषयमा नितिगत तथा व्यवस्थापकीय धारणाका विषयमा सोधेका थिए ।


सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले भौतिक पुर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा उठेका गुनासा, समस्या, जिज्ञासाहरुको नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला र शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो । त्यसै गरि देवचुली १ का वडा अध्यक्ष कृष्णबहादुर केसी, देवचुली २ का वडा अध्यक्ष शरद घिमिरे, देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, देवचुली ४ का वडा अध्यक्ष गिरबहादुर थापा र देवचुली ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटा समेतले वडाबासीको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उप प्रमुख पार्वता तिवारीले सार्वजनिक सुनुवाइ महत्व र नगरपालिकाले गरेका सेवा प्रवाहमा जनताबाट आवश्यक सुझाव लिई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्न सहज हुने भएकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएको जानकारी दिनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले यस आर्थिक वर्षको चैत मसान्तसम्म नगरपालिकाले गरेका शाखागत प्रगति विवरणबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार विष्णु गौडेलले गर्नुभएको थियो ।

Write your Comment