आज:  २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026 Search
FLASH NEWS

देवचुली–५ मा सांसद राजन गौतमको भेटघाट, भागवत सप्ताहको तयारीप्रति चासो

    प्रकाशित २०८३ बैशाख २, बुधबार (२ महिना अघि)


देवचुली, नवलपुर । प्रतिनिधि सभा सदस्य राजन गौतमले आज बिहान देवचुली नगरपालिका–५, कदमपुरमा स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्। सो अवसरमा उनले आगामी वैशाख ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने “श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ” को तयारी स्थल अवलोकन गर्दै कार्यक्रमप्रति शुभकामना व्यक्त गरेका छन्।

भेटघाटका क्रममा सांसद गौतमले महायज्ञको तयारीमा जुटेका स्थानीय तथा भक्तजनहरूसँग कुराकानी गर्दै यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमहरूले समुदायमा सकारात्मक ऊर्जा र एकता प्रवर्द्धन गर्ने बताएका थिए। उनले महायज्ञ सफल पार्न स्थानीयको सक्रियता सराहनीय रहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमस्थलमा उपस्थित भक्तजन तथा स्थानीयसँगको संवादका क्रममा देवचुली–५, कदमपुर क्षेत्रमा खानेपानी तथा सिँचाइको समस्या रहेको विषय पनि उठाइएको थियो। त्यसप्रति ध्यानाकर्षण गराउँदै सांसद गौतमले उक्त समस्याको समाधानका लागि आवश्यक पहल तथा सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, “स्थानीयस्तरमा देखिएका आधारभूत समस्या समाधान गर्न मेरो तर्फबाट आवश्यक सहयोग र समन्वय गर्नेछु।” साथै, उनले वैशाख ८ गतेदेखि सुरु हुने सप्ताह ज्ञान महायज्ञमा सकेसम्म सहभागी हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

देविस्थान शिवालय दुर्गा मन्दिर परिसरमा आयोजना हुन लागेको उक्त सप्ताह ज्ञान महायज्ञ सात दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रममा दैनिक रूपमा भागवत कथा वाचन, पूजा–आजा, हवन तथा भजन–कीर्तन लगायतका धार्मिक गतिविधिहरू गरिने आयोजकले जनाएको छ।

स्थानीय स्तरमा धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको यस महायज्ञप्रति जनस्तरमा उत्साह बढ्दै गएको छ। तयारी कार्य अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।

देवीस्थान दुर्गा मन्दिरमा सप्ताह ज्ञान महायज्ञ, भक्तजन जुट्ने तयारी

Write your Comment