

देवचुली । देवचुली नगरपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि नेतृत्व विकास तालिम सुरु भएको छ । देवचुली नगरपालिकाको आयोजनामा उप प्रमुखसँग महिला सशक्तीकरण कार्यक्रम अन्तरगत शनिबारबाट नगरपालिकाको सभाहलमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि तीन दिनको नेतृत्व विकास तालिम सुरु भएको हो ।

देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको अध्यक्षता भएको तालिम उद्घाटन सत्रमा उप प्रमुख तिवारीले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले माग गरेबमोजिम तालिम संचालन गरिएको र यसबाट सेवा प्रवाह तथा वाककलामा दक्ष बन्न सहयोग पुग्ने उहाँले बताउनु भयो । तालिममा सिकेको कलाले मौलिक तथा सिर्जनात्मक सोचको विकास गर्न सघाउने हुँदा नगरपालिकाले आगामी दिनमा थप रचनात्मक कार्यहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।

उदघाटन सत्रमा स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाका लागि
उप प्रमुख सँग महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत नेतृत्व विकास तालिम सुरु गरिएको र यसबाट स्वयमसेविकाहरुलाई समुदायमा काम गर्न सहज हुने बताउनुभयो । देवचुली नगरपालिकाका रहेका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको सहभागिता रहेको तालिममा पहिलो दिन स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, सिनियर अहेव अधिकृत शिव पराजुली, पत्रकार राजु चापागाई र जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सहजिकरण गर्नु भएको थियो ।