

देवचुली । भूतपूर्व सैनिक कल्याणकारी संस्था साविक प्रगतिनगरको १७ औं वार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ। संस्थाको १७ औं वार्षिक साधारण सभा तथा स्थापना दिवस नव वर्ष २०८३ सालको शुभकामना आदान प्रदान कार्यक्रम शनिबार देवचुली १३ मा रहेको साहारा पार्टी प्यालेसमा गरिएको हो ।

सभामा संस्थाका क्याप्टेन शेरबहादुर केसीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । संस्थाले सदस्यहरुको स्वास्थ्य सचेतना कार्यक्रम संचालन गर्ने, महिला सशक्तीकरणका लागि उदघोषण तालिम, भुपु सैनिकहरुको कार्यक्षमता अनुरुप पुर्नरोजगारका लागि पहल गर्ने, पेन्शन सम्बन्धि समस्याहरूमा सहजीकरण गर्ने, भारतीय दूतावाससँग समन्वय गरि स्थानीय क्षेत्रमा गर्न सकिने कल्याणकारी कार्य प्रति अध्ययन र सम्पादनको लागि पहल गर्ने लगायतका कार्ययोजना उहाँले सुनाउनुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव जम. हरि प्रसाद दवाडीले वार्षिक प्रतिवेदन, सुवेदार चन्द्रबहादुर भण्डारीले लेखा प्रतिवेदन, कोषाध्यक्ष क्या.रामप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणको बन्द सत्रले उहाँ प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, लेखा प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको हो ।
संस्थाका अध्यक्ष क्याप्टेन शेरबहादुर केसीको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका पूर्व अध्यक्ष क्याप्टेन लिलामणि घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि संस्थाका निवर्तमान अध्यक्ष क्याप्टेन डिलबहादुर खत्री, सल्लाहकार, छिमेकी भुतपुर्व सैनिक कल्याणकारी संस्थाका प्रतिनिधि लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भू.पू. सैनिकको परिवारबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने सुमिना केसी र स्पन्दन क्षेत्रीलाई नगद सहित सम्मान गरिएको थियो। यसैगरी भू.पू. सैनिकका ज्येष्ठ नागरिक देवचुली-१२ का बालकृष्ण भुसाललाई दोसल्ला ओडाई सम्मान गरिएको थियो। साधारणसभामा संस्थाका उपाध्यक्ष सितादेवी सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका सचिव जम. हरिप्रसाद दवाडीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।