

देवचुली । देवचुली नगरपालिकाको नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार देवचुली नगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा देवचुली-७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयका तीन जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
नगरपालिकाले सार्वजनिक गरेको नतिजामा ३ जना विद्यार्थीले मात्र ४ जि.पि.ए ल्याएकोमा ३ जना नै भीमसेनका विद्यार्थी हुन् । भीमसेनबाट आदित्य तिवारी, दिपिका पाण्डे र आयुष पराजुलीले ४ जि.पि.ए ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले जानकारी दिनुभयो । विद्यालयबाट नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षामा २५० जना विद्यार्थी सहभागी भएका र नगरमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको उहाँले बताउनुभयो । नगरपालिकाले बिहीबार नै सार्वजनिक गरेको कक्षा ५ को नतिजामा समेत भीमसेनले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ ।
चैत ८ गतेदेखि १६ गतेसम्म संचालन भएको परीक्षामा कक्षा ८ का देवचुली नगरपालिकाका २३ विद्यालयका १२७७ जना परीक्षामा सहभागी भएकोमा १०२७ विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउने भएका छन् भने कक्षा ५ मा पालिकाका २५ विद्यालयका ९७२ जना परीक्षामा सहभागी भएकोमा ८०८ जना माथिल्लो कक्षामा अध्ययन गर्न पाउने नतिजामा उल्लेख छ । कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा तोकिएको मापदण्ड अनुसारको नतिजा प्राप्त गर्न नसक्ने विद्यार्थीहरुलाई ग्रेड वृद्धि परीक्षामा सहभागी गराइने नगरपालिकाले जनाएको छ ।