

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा बुटिक सम्बन्धि सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा) अन्तरगत संचालन भएको तालिमको मंगलबार समापन गरिएको हो ।

देवचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षतामा भएको समापन कार्यक्रममा उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यपालिका सदस्य मधुमाया गुरुङ , देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकाल, आर्थिक विकास शाखा प्रमुख शिव सापकोटा, वडा सदस्य विष्णुबहादुर खडका , आइतमान गुरुङ , वडा सचिव केशव भुसाल, संकटमोचन शिवालय मन्दिरका कोषाध्यक्ष बालानन्द अर्याल लगायत महिलाहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै उप प्रमुख तिवारीले देवचुली नगरपालिकाले नगरबासीको आर्थिक स्तर उन्नतिका लागि सीप विकास तालिम संचालन गरिरहेको बताउँदै तालिमबाट सिकेका सीपलाई प्रयोग गरि स्वरोजगार बन्नका लागि आग्रह गर्नुभएको थियो । उहाँले स्वरोजगार बन्नका लागि नगरपालिका आवश्यक तालिमको व्यवस्था गर्ने र आवश्यक सहयोग गर्ने बताउनुभयो । तालिममा सीप विकाससँगै बजारीकरणको सीप प्रदान गरिएको उहाँले बताउनुभयो ।

देवचुली नगरपालिका वडा नम्बर ९ का २५ जना महिलाहरु फागुन १४ गतेदेखि १ महिना सम्म देवचुली ९ स्थित संकटमोचन शिवालय मन्दिरको हलमा बुटिक सम्बन्धि सीप विकास तालिम संचालन गरिएको हो । वडामा रहेका चारवटा टोल विकास संस्थाबाट छनोट भई आएका महिलालाई तालिममा सहभागी गराइएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले जानकारी दिनुभयो । तालिमलाई देउमाया राई राना मगर र नौमाया पुलामीले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।