

सिमरा, बारा । जगदम्बा स्टिल लिमिटेडमा फागुन १० गतेदेखि सञ्चालन हुँदै आएको आन्तरिक डिपार्टमेन्टल नकआउट क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ। उद्योगमा कार्यरत कर्मचारीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै स्वास्थ्य, खेलकुद तथा मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कुल १० टिम सहभागी रहेका थिए।

प्रतियोगिताको फाइनल खेलमा सीआरएम (CRM) र डब्लुआरएम (WRM) टिमबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले फिल्डिङ रोजेको सीआरएम टिमले WRM लाई १५६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको WRM टिम १४ ओभरमा ९४ रनमै अलआउट भएपछि सीआरएम टिम विजयी हुँदै प्रतियोगिताको उपाधि जित्न सफल भयो।

प्रतियोगिताभर प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषित गर्दै नगद रु. २,००० सहित मेडल प्रदान गरिएको थियो। त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका WRM टिमका खेलाडी अरुण महतो ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित हुँदै नगद रु. ७,००० र मेडलबाट सम्मानित भएका छन्।
प्रतियोगितामा प्रथम हुने सीआरएम टिमलाई नगद रु. २४,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता WRM टिमलाई नगद रु. १२,००० सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
मानव संसाधन विभाग प्रमुख अनिल गजुरेलका अनुसार कर्मचारीहरूबीच सहकार्य, टिमवर्क र आपसी सद्भाव बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रम जनसम्पर्क अधिकारी (PR Head–Vice President) को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक आयुष गुप्ता प्रमुख अतिथिका रूपमा तथा कारखाना मजदुर युनियनका अध्यक्ष दीपक बिक अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्यकारी निर्देशक गुप्ताले यस्ता खेलकुद गतिविधिले कर्मचारीहरूबीच आपसी समझदारी, सहकार्य र खुसीको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि प्रत्येक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमको सञ्चालन विश्वास लामिछानेले गरेका थिए।
