आज:  २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026 Search
FLASH NEWS

तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: शनिबार देवचुली १० र देवचुली १५ विजयी

    प्रकाशित २०८२ फागुन ९, शनिबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा शनिबार देवचुली १० र देवचुली १५ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २९ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा शनिबार देवचुली १० का विरुद्ध देवचुली ११ बिचको पहिलो खेलमा देवचुली १० ले ८९ रनको जित निकालेको हो । पहिले ब्याटिङ गरेको देवचुली १० ले हर्ष रेग्मीको ७३ रन र श्रवन श्रेष्ठको २३ रनको मदतले २० ओभरमा ८ विकेट गुमाई १६० रन बनाएको थियो । बलिङतर्फ देवचुली ११ का शिभम कुमारले ३ विकेट र मोहन पाण्डेले २ विकेट लिएका थिए ।

१६१ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले ११ ले १६.२ ओभरमा १० विकेट गुमाउँदै ७१ रन मात्रै बनाएको हो । देवचुली ११ का रनबहादुर पुनले १८ रन र सन्देश बस्नेतले १७ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १० का जग बहादुर क्षेत्री र अमृत भुसालले ५/५ विकेट लिएका थिए । पहिलो खेलमा देवचुली १० का अमृत भुसाल म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत शनिबार नै भएको देवचुली २ का विरुद्ध देवचुली १५ बीचको खेलमा देवचुली १५ ले १४९ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १५ ले सन्देश भुसालको ६२ रन र राजन दराईको ४५ रनको मदतले २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । बलिङतर्फ देवचुली २ का कन्चन कुमार श्रेष्ठले २ विकेट र आयुष पाण्डेले १ विकेट लिएका थिए । २१९ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली २ ले १४.१ ओभरमा १० विकेटको क्षतिमा ६९ रन मात्र बनाएको हो । देवचुली २ का कन्चनकुमार श्रेष्ठले २७ रन र सागर पौडेलले ७ रन बनाएका थिए । बलिङतर्फ देवचुली १५ का कृष्ण जिसीले ५ विकेट र सन्देश भुसालले ३ विकेट लिएका थिए । दोस्रो खेलमा देवचुली १५ का सन्देश भुसाल म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २२ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत आइतबार देवचुली १ का विरुद्ध देवचुली १६ बिच पहिलो खेल र देवचुली ३ का विरुद्ध देवचुली ७ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment