

देवचुली । देवचुली नगरपालिकामा संचालित तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा शुक्रबार देवचुली १२ र देवचुली १३ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २९ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।
प्रतियोगितामा शुक्रबार देवचुली ७ का विरुद्ध देवचुली १२ बिचको पहिलो खेलमा देवचुली १२ ले ९५ रनको जित निकालेको हो । पहिले ब्याटिङ गरेको देवचुली १२ ले गौरव बिकको ८० रन र स्वागत पाण्डेको २२ रनको मदतले २० ओभरमा ९ विकेट गुमाई २०३ रन बनाएको थियो । बलिङतर्फ देवचुली ७ का विवेक काफ्लेले ४ विकेट र ओमन सेन्चुरीले ३ विकेट लिएका थिए ।
२०४ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले ७ ले २० ओभरमा ८ विकेट गुमाउँदै १०८ रन मात्रै बनाएको हो । देवचुली ७ का ओमन सेन्चुरीले २० रन र कमल अधिकारीले १७ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १२ का गौरव बिक र मनोज भट्टराईले २/२ विकेट लिएका थिए । पहिलो खेलमा देवचुली १२ का गौरव बिक म्यान अफ दि म्याच भएका थिए।
त्यसै गरि प्रतियोगिता अन्तरगत शुक्रबार नै भएको देवचुली १३ का विरुद्ध देवचुली १४ बीचको खेलमा देवचुली १३ ले ९ विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १४ ले सुजन अर्यालको १३ रन र अनिल बिरकट्टाको ६ रनको मदतले १३ ओभरमा १० विकेट गुमाउँदै ३९ रन बनाएको थियो । बलिङतर्फ देवचुली १३ का ओमचन्द्र महतोले ४ विकेट, प्रमिश अर्याल र आयुष सुबेदीले २/२ विकेट लिएका थिए । ४० रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली १३ ले ३ ओभरमा १ विकेटको क्षतिमा ४० रन बनाउँदै ९ विकेटको जित निकालेको हो । देवचुली १३ का प्रमिश अर्यालले २७ रन र ओमचन्द्र महतोले ५ रन बनाएका थिए । बलिङतर्फ देवचुली १४ का सरोज दवाडीले १ विकेट लिएका थिए । दोस्रो खेलमा देवचुली १३ का ओमचन्द्र महतो म्यान अफ दि म्याच भएका थिए ।
नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २२ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत शनिबार देवचुली २ का विरुद्ध देवचुली १५ बिच पहिलो खेल र देवचुली १० का विरुद्ध देवचुली ११ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।