

काठमाडौं । नेपाली कांग्रेस ले २ सय पृष्ठ लामो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । प्रतिज्ञापत्रको सन्दर्भमा पार्टी सभापति गगन थापा सँग गरिएको सिधा प्रश्नोत्तर कार्यक्रमपछि कांग्रेसले प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेको हो ।
यसअघि कांग्रेसले मुख्य १० भिजन मात्रै सार्वजनिक गरेको थियो भने अब विस्तृत योजनासहितको पूर्ण दस्तावेज सार्वजनिक गरिएको पार्टीले जनाएको छ ।
प्रतिज्ञापत्रमा सरकार सञ्चालन पारदर्शी र जनउत्तरदायी बनाइने उल्लेख गर्दै सिंहदरबारका बन्द कोठाबाट होइन, जनताको प्रत्यक्ष निगरानी र सहभागिताबीच सरकार सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । “सरकारले पाँच वर्षपछि मात्र होइन, प्रत्येक महिना जनतालाई जवाफ दिने नयाँ लोकतान्त्रिक अभ्यास सुरु गर्नेछ,” प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।
कांग्रेसले सरकार गठन भएको पहिलो महिनादेखि नै मासिक कार्ययोजना सार्वजनिक गर्ने व्यवस्था लागू गर्ने जनाएको छ । प्रत्येक महिनाको पहिलो दिन आगामी महिनाको कार्ययोजना सार्वजनिक गरिने र महिनाको अन्त्यमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरिने नीति प्रतिज्ञापत्रमा समावेश गरिएको छ ।
त्यस्तै, प्रत्येक मन्त्रालयलाई प्रतिज्ञापत्रअनुसार स्पष्ट कार्यादेश दिई मासिक रूपमा कार्यसम्पादन परीक्षण गरिने उल्लेख छ । महिनाभरि भएका उपलब्धिहरू समेटिएको ‘मासिक रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने पद्धति केन्द्रदेखि स्थानीय तहसम्म संस्थागत गरिने कांग्रेसको योजना रहेको छ ।
पार्टीले आगामी पाँच वर्ष सरकार सञ्चालनमा नैतिकता, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर गतिशील नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाउँदै जनताको भरोसा कायम राख्ने उल्लेख गरेको छ ।
हेर्नुहोस् नेपाली कांग्रेसको चुनावी प्रतिज्ञापत्र–