आज:  २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026 Search
FLASH NEWS

तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता: बिहीबार देवचुली २ र देवचुली १७ विजयी

    प्रकाशित २०८२ फागुन ७, बिहिबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा बिहीबार देवचुली २ र देवचुली १७ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २९ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।

प्रतियोगितामा बिहीबार देवचुली ५ का विरुद्ध देवचुली १७ बिचको पहिलो खेलमा देवचुली १७ ले ८७ रनको जित निकालेको हो । पहिले ब्याटिङ गरेको देवचुली १७ ले आयुष ज्ञवालीको ४५ रन र सुजन सापकोटाको ३० रनको मदतले २० ओभरमा ५ विकेट गुमाई १४६ रन बनाएको थियो । बलिङतर्फ देवचुली ५ का सुभम पौडेलले २ विकेट र सरोज चापागाईले १ विकेट लिएका थिए ।

१४७ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले ५ ले १३.२ ओभरमा १० विकेट गुमाउँदै ५९ रन मात्रै बनाएको हो । देवचुली ५ का प्रदीप तिवारीले १३ रन र सुभम पौडेलले १० रन बनाएका थिए। बलिङ तर्फ देवचुली १७ का सन्दीप पौडेलले ५ विकेट र सोहन तिमिल्सिनाले २ विकेट लिएका थिए । पहिलो खेलमा देवचुली १७ का सन्दिप पौडेल म्यान अफ दि म्याच भएका थिए।

त्यसै गरि प्रतियोगिता अन्तरगत बिहीबार नै भएको देवचुली २ का विरुद्ध देवचुली ३ बीचको खेलमा देवचुली २ ले २३ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली २ ले कन्चन कुमार श्रेष्ठको ६३ रन र रिदम पोखरेलको १९ रनको मदतले २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । बलिङतर्फ देवचुली ३ का प्रिन्स दवाडीले ४ विकेट र सबल सिग्देलले १ विकेट लिएका थिए । १३८ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली ३ ले २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रन मात्रै बनाएको हो । देवचुली ३ का अनुस्प गैरेले १७ रन र प्रिन्स दवाडीले १६ रन बनाएका थिए । बलिङतर्फ देवचुली २ का सुजल मल्ल ठकुरीले ४ विकेट र आयुष पाण्डेले २ विकेट लिएका थिए । दोस्रो खेलमा देवचुली २ का कन्चन कुमार श्रेष्ठ म्यान अफ दि म्याच भएका थिए ।

नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २२ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत शुक्रबार देवचुली ७ का विरुद्ध देवचुली १२ बिच पहिलो खेल र देवचुली १३ का विरुद्ध देवचुली १४ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।

Write your Comment