आज:  २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026 Search
FLASH NEWS

गगन थापाको घोषणा: सीप विकास र लगानीमैत्री नीति मार्फत रोजगार सिर्जना

    प्रकाशित २०८२ फागुन ७, बिहिबार (१ महिना अघि)



काठमाडौं । नेपाली कांग्रेस ले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको प्रतिज्ञापत्रमा पाँच वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । पार्टीले सीप विकास, उत्पादनमुखी क्षेत्रको विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमार्फत रोजगारी वृद्धि गर्ने योजना अघि सारेको जनाएको छ ।

पार्टीका अनुसार निर्माण, पर्यटन तथा कृषि क्षेत्रलाई रोजगारी सिर्जनाको मुख्य आधार बनाइनेछ । युवालाई सीपमूलक तालिम प्रदान गर्दै स्वरोजगारमा जोड दिइने र उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक पुँजी उपलब्ध गराउने नीति अवलम्बन गरिने प्रतिज्ञापत्रमा उल्लेख छ ।

प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापति गगन थापा ले योजनाबद्ध कार्यक्रममार्फत रोजगारी वृद्धि गरिने बताएका छन् । उनले हचुवाका आधारमा नभई क्षेत्रगत योजना तयार गरी रोजगारका अवसर विस्तार गरिने उल्लेख गरे ।

“निर्माण, पर्यटन र कृषिमा सम्भावना अध्ययन गरेर कार्यक्रम सञ्चालन गर्छौं । सीप विकासमार्फत युवालाई स्वरोजगारतर्फ प्रोत्साहित गर्दै लगानी गर्न सक्ने वातावरण बनाइ पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएका छौं,” थापाले भने ।

कांग्रेसले आर्थिक विकासलाई प्राथमिकतामा राख्दै आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य समेत सार्वजनिक गरेको छ । उत्पादन वृद्धि, निजी क्षेत्रको सहभागिता विस्तार तथा निर्यात प्रवर्द्धनमार्फत आर्थिक वृद्धि दर बढाउने पार्टीको योजना रहेको जनाएको छ ।

Write your Comment