आज:  २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026 Search
FLASH NEWS

प्रतिनिधि सभा निर्वाचन २०८२ लक्षित गर्दै एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

    प्रकाशित २०८२ फागुन ७, बिहिबार (१ महिना अघि)


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली ले राजधानी काठमाडौंमा आयोजित कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा पार्टीले विगतमा गरेका उपलब्धि, वर्तमान सरकारप्रति आफ्नो दृष्टिकोण तथा आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने योजनाहरू समेटिएको जनाएको छ । ऊर्जा क्षेत्रमा आत्मनिर्भरता, पूर्वाधार विकास, औद्योगिक विस्तार तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको एमालेले दाबी गरेको छ ।

पार्टीका अनुसार लोडसेडिङ अन्त्य, सडक तथा द्रुतमार्ग निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल विस्तार, जलविद्युत् उत्पादन वृद्धि लगायतका काम आफ्नो नेतृत्वमा सम्पन्न भएको उल्लेख गरिएको छ । आगामी कार्यकालमा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि आधुनिकीकरण र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजना अघि सारिएको छ ।

घोषणापत्रमा तत्काल कार्यान्वयन गरिने ११ प्रमुख कार्यक्रम, ५ आधारभूत राष्ट्रिय प्रतिबद्धता तथा समृद्ध नेपाल निर्माणका लागि २५ विकास स्तम्भ प्रस्तुत गरिएको छ । शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र औद्योगिक क्षेत्रलाई ती स्तम्भहरूको केन्द्रमा राखिएको एमालेको भनाइ छ ।

हालैका आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका संरचनाहरू पुनर्निर्माण गर्ने कार्य निश्चित समयसीमा तोकेर अघि बढाइने पनि घोषणापत्रमा उल्लेख छ ।

एमालेले निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धा नभई देशको भविष्य निर्धारण गर्ने अवसरका रूपमा व्याख्या गरेको छ । घोषणापत्रमा भनिएको छ, “यो निर्वाचन केवल सत्ता परिवर्तनको विषय होइन, देश निर्माण र अव्यवस्थाबीचको रोजाइ हो । राष्ट्रिय स्वाभिमान, स्थिरता र विकासको पक्षमा जनमत निर्माण गर्न हामी प्रतिबद्ध छौं ।”

पार्टीले स्थिर सरकारमार्फत आर्थिक विकास तीव्र पार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा सुशासन कायम गर्ने प्रतिबद्धता समेत दोहोर्‍याएको छ ।

हेर्नुहोस् एमालेको चुनावी घोषणापत्र–

Write your Comment