

म नेता खोजिरहेकै होइन, म उत्तरदायित्व खोजिरहेको छु। किनकि देश केवल सत्तामा बस्नेहरूको मात्र होइन, चुपचाप हेरेर बस्ने नागरिकहरूको पनि प्रतिबिम्ब हो। राष्ट्रको अवस्था सधैं सरकारको मात्र परिणाम हुँदैन; त्यो नागरिक चेतनाको स्तरको पनि ऐना हो।
मेरो देश त्यही दिन बदलिन्छ, जुन दिन हामीले नेता बदल्ने मात्र होइन, आफ्ना अपेक्षाको स्तर बदल्न सिक्छौँ। जब हामी भाषण होइन व्यवहार माग्न थाल्छौँ, नाराभन्दा नतिजा तौल्न थाल्छौँ, तब मात्र लोकतन्त्रको अर्थ गहिरो बन्छ। चुनाव उत्सव हुन सक्छ, तर प्रतिनिधिका लागि त्यो जिम्मेवारीको परीक्षा हुनुपर्छ, जहाँ जनताको विश्वास प्रश्नपत्र होस् र पाँच वर्षपछि देखिने विकास त्यसको उत्तरपत्रिका।
चुनावले सधैं चमत्कार नगर्न सक्छ, तर एउटा सचेत मतले इतिहास मोड्न सक्छ। एउटा भोट सानो देखिए पनि त्यसैले कसैलाई उचाइ दिन्छ र कसैलाई सीमा देखाउँछ। मौनता पनि निर्णय हो, आवाज पनि निर्णय हो।
हामीले विकासलाई गलत रूपमा मापन गर्ने बानी बसालिसकेका छौँ। सडक बन्नु ठूलो खबर बन्नु हुँदैन; पाँच वर्षपछि पनि नबिग्रिनु सामान्य कुरा बन्नुपर्छ। अस्पताल उद्घाटन उपलब्धि होइन; बिरामीले सहज उपचार पाउनु स्वाभाविक अधिकार बन्नुपर्छ। विकासको सार संरचना होइन, नागरिक जीवनको गुणस्तरमा देखिनुपर्छ।
देशलाई त्यस्तो नेतृत्व चाहिएको छ, जसले गरिबीलाई भाषणको विषय होइन, समाधानको जिम्मेवारी ठानोस्। बेरोजगार युवाको आँखामा केवल वैदेशिक रोजगारको टिकट होइन, सम्मानजनक भविष्यको खोज देख्न सकोस्। पासपोर्ट कार्यालयको लाइन देख्दा रेमिट्यान्सको गर्व होइन, अवसर गुमाएको पीडा महसुस गर्न सकोस्। खाली हुँदै गएका गाउँहरूलाई विकासको आँकडाले होइन, समाजको विखण्डनका रूपमा बुझ्न सकोस्।
विकासको नाममा नदी बेच्ने, जंगल साट्ने वा हावा गिरवी राख्ने सोचले समृद्धि सम्भव हुँदैन। प्रकृति बिना विकास केवल भ्रम हो। धनी देश त्यो होइन जहाँ अग्ला भवन धेरै हुन्छन्; धनी देश त्यो हो जहाँ नागरिक निडर भएर भविष्यको सपना देख्न सक्छ।
राजनीति त्यस्तो हुनुपर्छ जहाँ असहमति देशद्रोह नबनोस्। प्रश्न सोध्नेहरूलाई शत्रु होइन, लोकतन्त्रको संरक्षक मानियोस्। संसद् ताली बजाउने ठाउँ होइन, तर्क गर्ने विद्यालय बनोस्। नेतृत्वको परिपक्वता गल्ती नगर्नुमा होइन, गल्ती स्वीकार गर्न सक्नुमा देखिन्छ।
राजनीति त्यस्तो हुनुपर्छ जहाँ असहमति देशद्रोह नबनोस्। प्रश्न सोध्नेहरूलाई शत्रु होइन, लोकतन्त्रको संरक्षक मानियोस्। संसद् ताली बजाउने ठाउँ होइन, तर्क गर्ने विद्यालय बनोस्। नेतृत्वको परिपक्वता गल्ती नगर्नुमा होइन, गल्ती स्वीकार गर्न सक्नुमा देखिन्छ।
जनताको बीचमा फोटो खिचाउन सजिलो छ, तर जनताको पीडा बोकेर हिँड्न साहस चाहिन्छ। संकटका बेला हेलिकप्टरबाट निरीक्षण गर्ने होइन, धुलोमा उभिएर साथ दिने नेतृत्व आवश्यक छ। सत्ता पाउँदा आफू ठूलो भएको महसुस गर्ने होइन, जिम्मेवारी अझ भारी भएको अनुभूति गर्ने नेता देशलाई चाहिएको छ। किनकि सत्ता कुर्सी होइन, विश्वास हो। विश्वास चर्कियो भने राष्ट्रको आत्मा नै कमजोर हुन्छ।
चुनावले सधैं चमत्कार नगर्न सक्छ, तर एउटा सचेत मतले इतिहास मोड्न सक्छ। एउटा भोट सानो देखिए पनि त्यसैले कसैलाई उचाइ दिन्छ र कसैलाई सीमा देखाउँछ। मौनता पनि निर्णय हो, आवाज पनि निर्णय हो। त्यसैले भोट दिँदा पार्टी होइन प्रवृत्ति, नाम होइन नियत, वाचा होइन क्षमता हेर्न आवश्यक छ।
अन्ततः देश नेता जस्तो होइन, नागरिक जस्तो बन्छ। त्यसैले जिम्मेवारी केवल नेतृत्वको मात्र होइन, नागरिकको पनि हो। आज देशसँग गर्नुपर्ने सबैभन्दा ठूलो वाचा यही हो, हामी केवल राम्रो नेता खोजेर बस्ने छैनौँ, आफैँ पनि राम्रो नागरिक बन्ने प्रयास गर्नेछौँ।
देश बदल्ने यात्रा मतपेटिकाबाट सुरु हुन्छ, तर नागरिक चेतनामा पुगेर मात्र पूरा हुन्छ।
मेरो देश, मेरो जिम्मेवारी।
मेरो भोट, मेरो भविष्य।