

देवचुली । देवचुली नगरपालिकामा संचालित तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा बुधबार देवचुली ७ र देवचुली १२ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २९ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।
प्रतियोगितामा मंगलबार देवचुली १२ का विरुद्ध देवचुली १५ बिचको पहिलो खेलमा देवचुली १२ ले ७५ रनको जित निकालेको हो । पहिले ब्याटिङ गरेको देवचुली १२ ले गौरव बिकको ७२ रन र अनिल पराजुलीको १६ रनको मदतले २० ओभरमा ९ विकेट गुमाई १६६ रन बनाएको थियो । बलिङतर्फ देवचुली १५ का स्वीकार श्रेष्ठ र सागर जिसीले ३/३ विकेट लिएका थिए ।
१६७ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १५ ले १७.५ ओभरमा १० विकेट गुमाउँदै ९१ रन मात्रै बनाएको हो । देवचुली १५ का कृष्ण जिसीले २२ रन र आदर्श भट्टराईले १४ रन बनाएका थिए। बलिङ तर्फ देवचुली १२ का शैलेश काफ्लेले ५ विकेट र मनोज भट्टराईले ३ विकेट लिएका थिए । पहिलो खेलमा देवचुली १२ का शैलेश काफ्ले म्यान अफ दि म्याच भएका थिए।
त्यसै गरि प्रतियोगिता अन्तरगत बुधबार नै भएको देवचुली २ का विरुद्ध देवचुली ७ बीचको खेलमा देवचुली ७ ले १०३ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली ७ ले ओमन सेन्चुरीको ७० रन र कमल अधिकारीको २० रनको मदतले २० ओभरमा ७ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । बलिङतर्फ देवचुली २ का सुजल मल्ल ठकुरी र विजय घिमिरेले ३/३ विकेट लिएका थिए । १६६ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली २ ले १७.१ ओभरमा १० विकेटको क्षतिमा ६२ रन मात्रै बनाएको हो । देवचुली २ का सुजल मल्ल ठकुरीले १९ रन र रिदम पोखरेलले ७ रन बनाएका थिए । बलिङतर्फ देवचुली ७ का निशान्त क्षेत्रीले ३ विकेट र कमल अधिकारीले २ विकेट लिएका थिए । दोस्रो खेलमा देवचुली ७ का ओमन सेन्चुरी म्यान अफ दि म्याच भएका थिए ।
नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २२ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत बिहीबार देवचुली ५ का विरुद्ध देवचुली १७ बिच पहिलो खेल र देवचुली २ का विरुद्ध देवचुली ३ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।