

देवचुली । देवचुली नगरपालिकामा संचालित तेस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगितामा मंगलबार देवचुली १३ र देवचुली १६ विजयी भएका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २९ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिताको संचालन गरिएको हो ।
प्रतियोगितामा मंगलबार देवचुली १४”का विरुद्ध देवचुली १६ बिचको पहिलो खेलमा देवचुली १६ ले १०१ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १६ ले विकल्प पौडेलको ३९ रन र मुन्ना नेपालीको ३५ रनको मदतले २० ओभरमा ४ विकेट गुमाई १८१ रन बनाएको थियो । बलिङतर्फ देवचुली १४ का डम्बर घर्तीले २ विकेट र नरेश रानाभाटले १ विकेट लिएका थिए ।
१८२ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको देवचुलीले १४ ले १९.२ ओभरमा १० विकेट गुमाउँदै ८० रन मात्रै बनाएको हो । देवचुली १४ का कमल रानाभाटले २० रन र अनिल बिरकट्टा मगरले १० रन बनाएका थिए। बलिङ तर्फ देवचुली १६ का विकल्प पौडेलले ३ विकेट र मुनाल लुंगेलीले २ विकेट लिएका थिए । पहिलो खेलमा देवचुली १६ का विकल्प पौडेल म्यान अफ दि म्याच भएका थिए।
त्यसै गरि प्रतियोगिता अन्तरगत मंगलबार नै भएको देवचुली १ का विरुद्ध देवचुली १३ बीचको खेलमा देवचुली १३ ले ३५ रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको देवचुली १३ ले ओमचन्द्र महतोको ४१ रन र आयुश सुबेदीको १९ रनको मदतले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । बलिङतर्फ देवचुली १ का दिपेन बुढाथोकी र किशन बस्नेतले २/२ विकेट लिएका थिए । १२५ रनको विजयी लक्ष्य लिएर मैदानमा प्रवेश गरेको देवचुली १ ले १८.४ ओभरमा १० विकेटको क्षतिमा ८९ रन मात्रै बनाएको हो । देवचुली १ का प्रशान्त गौतमले ३५ रन र किसन बस्नेतले २० रन बनाएका थिए । बलिङतर्फ देवचुली १३ का आयुश सुबेदीले ३ विकेट र प्रमिश अर्यालले २ विकेट लिएका थिए । दोस्रो खेलमा देवचुली १३ का आयुश सुबेदीले म्यान अफ दि म्याच भएका थिए ।
नगरका १३ वडाबाट सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद २२ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने टिमले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत बुधबार देवचुली ५ का विरुद्ध देवचुली १७ बिच पहिलो खेल र देवचुली २ का विरुद्ध देवचुली ३ बिच दोस्रो खेल हुने आयोजकले जानकारी दिए ।