

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज खगराज अधिकारीले आगामी निर्वाचनमा एमालेको पक्षमा जनलहर तीव्र रूपमा बढ्दै गएको बताउनुभएको छ। गैडाकोटमा आयोजित नगर पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले एमालेविरुद्ध योजनाबद्ध रूपमा फैलाइएका भ्रम र अफवाहप्रति जनता सचेत बन्दै गएको उल्लेख गर्नुभयो। पार्टी नेतृत्व र संगठनविरुद्ध गरिएका सुनियोजित षड्यन्त्रहरूको पर्दाफास गर्दै एमालेले जनविश्वास पुनः स्थापित गर्न सफल भएको उहाँको दाबी थियो।

देशलाई अस्थिरता र अन्योलताबाट मुक्त गरी समृद्धि र स्थायित्वतर्फ अघि बढाउने दायित्व एमालेको काँधमा रहेको बताउँदै उहाँले देश बनाउने र देश बिगार्ने शक्तिबीचको यो वैचारिक संघर्षमा एमाले कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पार्नुभयो। जनताको घरदैलोमा पुगेर पार्टीले गरेका विकास निर्माण, सुशासन प्रवर्द्धन र राष्ट्रिय स्वाभिमानका कामहरूबारे जानकारी गराउन तथा राष्ट्रविरुद्धका गतिविधिको भण्डाफोर गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो।
कार्यक्रममा बोल्दै नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागिरथ सापकोटाले घरदैलो कार्यक्रम, विभिन्न भेटघाट तथा चुनावी अभियानमा देखिएको जनउत्साहले आफ्नो क्षेत्रमा एमालेको जित सुनिश्चित भएको दाबी गर्नुभयो। उहाँले नवलपुर क्षेत्र नं. १ सम्भावनाले भरिपूर्ण भए पनि अपेक्षित विकासबाट पछाडि परेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“जनताले परिवर्तन होइन, स्थायित्व र परिणाम खोजिरहेका छन्,” उहाँले भन्नुभयो, “यस क्षेत्रको समग्र विकासका लागि म सदैव अग्रसर र नेतृत्वदायी भूमिका निर्वाह गर्न तत्पर छु।” उहाँले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रोत्साहन तथा सडक, सिँचाइ र विद्युत् जस्ता आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारीलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी नेताहरूले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र अनुशासित तथा मर्यादित ढंगले चुनावी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।