

नवलपुर। नेकपा एमाले नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार भागिरथ सापकोटाले उद्योग स्थापना, रोजगारी सृजना, युवा पलायन रोकथाम र पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै व्यापक विकास योजनाहरू सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै उनले जिल्लाको समग्र आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको सुधारका लागि विशेष कार्यक्रम अघि सार्ने बताएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार सापकाेटाले नवलपुरलाई उत्पादन, पर्यटन र प्रविधिमैत्री जिल्लाको रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे। “युवा विदेशिन बाध्य हुने अवस्था अन्त्य गर्न स्थानीय स्तरमै उद्योग स्थापना, सीप विकास र स्वरोजगारका अवसर सृजना गर्नु अपरिहार्य छ,” उनले भने। सापकोटाका अनुसार जिल्लामा साना तथा मझौला उद्योग स्थापना गर्न विशेष योजना ल्याइनेछ। कृषि, जडीबुटी, खाद्य प्रशोधन र घरेलु उद्योगलाई प्रोत्साहन गर्दै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरिने उनले बताए। यसबाट स्थानीय स्तरमै रोजगारी सिर्जना भई युवाहरूको पलायन रोकिने विश्वास व्यक्त गरिएको छ।
पर्यटन प्रवर्द्धनलाई अर्को प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गर्दै उनले कोरला–त्रिवेणी सडक निर्माण कार्य शीघ्र सम्पन्न गरिने बताए। उक्त सडक निर्माण पूरा भएपछि चिनियाँ तथा भारतीय पर्यटक भित्र्याउन सहज हुने र नवलपुरलाई अन्तर्राष्ट्रिय पर्यटन मार्गसँग जोड्न मद्दत पुग्ने उनको भनाइ छ। “सीमा नाकासँग जोडिने सडकले व्यापार र पर्यटन दुवैलाई नयाँ उचाइमा पुर्याउनेछ,” उनले दाबी गरे।
उनले नवलपुर जिल्लामा विभिन्न जातजातिको मौलिक संस्कृति झल्कने गरी होमस्टे सञ्चालनलाई विस्तार गरिने योजना पनि अघि सारिएको बताए । स्थानीय समुदायलाई सहभागी गराई संस्कृति, परम्परा, खानपान र जीवनशैलीमा आधारित पर्यटन व्यवसाय विकास गरिनेछ । यसले ग्रामीण क्षेत्रमा आयआर्जनको स्रोत बढाउने र स्वरोजगारमुखी पर्यटन व्यवसायलाई बलियो बनाउने अपेक्षा गरिएको छ। कृषि क्षेत्रको बजारीकरणमा जोड दिँदै सापकोटाले नवलपुरमा उत्पादित अम्रिसो, अदुवा लगायतका कृषि उत्पादनको व्यवस्थित बजार व्यवस्थापन गरिने बताए। कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग पुर्याउन संकलन केन्द्र, प्रशोधन एकाइ र बजार पहुँच विस्तारका कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। “उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने।
शिक्षा क्षेत्रतर्फ जिल्लामै प्राविधिक विद्यालय स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्दै जिल्लामै गुणस्तरीय अध्ययनको वातावरण तयार गरिने उनले बताए। यसबाट स्थानीय विद्यार्थीलाई सहज पहुँचका साथै सीपमूलक शिक्षा प्राप्त हुने विश्वास व्यक्त गरिएको छ। स्वास्थ्य क्षेत्रको सुधारका लागि ट्रमा सेन्टर निर्माण कार्यलाई तीव्रता दिइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। दुर्घटना तथा आकस्मिक उपचारका लागि जिल्लामै सुविधा सम्पन्न ट्रमा सेन्टर आवश्यक रहेको उल्लेख गर्दै उनले यसलाई शीघ्र सम्पन्न गर्ने बताए।
उम्मेदवारले यी सबै योजना कार्यान्वयनका लागि एमालेको नेतृत्वमा सरकार आवश्यक रहेको धारणा राखे। स्थिर सरकार, स्पष्ट नीति र विकासप्रति प्रतिबद्ध नेतृत्वबाट मात्रै यस्ता कार्यक्रम सफल हुने उनको तर्क थियो। उनले मतदातालाई विकास र स्थायित्वका लागि एमाले उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।
पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूले विकास योजना र कार्यान्वयन रणनीतिबारे जिज्ञासा राखेका थिए। उम्मेदवारले संघ, प्रदेश र स्थानीय तहको समन्वयबाट योजनाहरू कार्यान्वयन गरिने र निजी क्षेत्रको समेत साझेदारी गरिने बताए।