आज:  २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026 Search
FLASH NEWS

अविरल जनसाहित्य यात्रा–१०५ मा डा.सरोज धितालका १२ कविताहरू

    प्रकाशित २०८२ माघ २६, सोमबार (३ हफ्ता अघि)


जीवनको अविरल यात्रामा चिकित्शा विज्ञानमा आफ्नो पेशागत जीवन यापन गर्नुभएका डा. सरोज धिताल नेपाली कम्युनिष्ट आन्दोलनका एक सशक्त योद्धाका रूपमा भूमिगत जीवन समेत यापन गर्दै तत्कालीन समयमा समय सापेक्ष दर्जनौँ कविताहरू रचना गरी नेपाली साहित्यको भण्डारलाई अझै मझबुत बनाउन योगदान दिने एक सशक्त कविका रूपमा परिचित भएका छन् । भने जीवनको उत्तरार्धमा आइपुग्दा बुद्ध दर्शनबाट प्रोरित अत्यन्त शान्त स्वभावका कवि धितालका निम्नानुसारका १२ वटा कविताका विशेषताहरू यसप्रकार रहेका छन्ः

१. बाल अधिकार तथा मानव अधिकारका अभियन्ता गौरी प्रधानद्वारा वाचन गरिएको धितालका “क्रान्तिकारी” कविता क्रान्ति चेतनाले ओतप्रोत भएको प्रगतिवादी कविता हो । जुन कवितामा प्रतिकात्मक भाव, राष्ट्रियता, मानवीयता र क्रान्ति भावले भरिएको एक योद्धालाई जुनसुकै वस्तुसँग दाज्दा पनि उसको पहिचान भिन्न नै रहेको र ऊ भित्रको दृष्ढ विश्वासका साथ अगाडि बढेको साहसलाई लिएर कविले कवितात्मक शैलीमा एक क्रान्तिकारी योद्धाको जीवनलाई प्रस्तुत गरेको कविता हो ।
२. कवि, साहित्यकार, प्राज्ञ, सुलोचना मानन्धरले वाचन गर्नुभएको धितालको “जेल परेकी बहिनी” कवितामा महिलावादका भावना छताछुल्ल पोखिएका छन् भने प्रगतिवादले उक्त कवितालाई चुर्लुम्म ढुबाएको छ । नेपाली समाजमा महिलाहरूले जीउनु परेको यथार्थ जीवनको गाथालाई प्रस्तुत गर्दै राष्ट्रियता, प्रगतिवादी, क्रान्तिकारी चेतना र दृढ संकल्प सहित आशातित् जीवनको यात्रामा अगाडि बढेको नेपाली नारीको वीर गाथालाई यस कवितामा अत्यन्तै मार्मिक र तत्कालीन समयको सान्दर्भिकतासँग प्रस्तुत गरिएको छ । उसलाई समाजले हेर्ने एक मामुली नारीका रूपमा नभई सशक्त र जागरुक नारीका रूपमा प्रस्तुत गरिएको छ ।
३. तारा भुर्तेलद्वारा वाचन गरिएको धितालको “हामी” कविता वि.सं. ३७ सालमा लेखिएको कविता हो । जुन कवितामा कवि सुलोचना मानन्धर र डा.सरोज धिताल बिचको प्रेमिल कथाले ओतप्रोत भएको कविता हो । जुन कविता केही शृङ्गारिक भावमा रहेर लेखिएको भए तापनि प्रगतिवादप्रति पनि उत्तिकै अग्रसर देखिएको छ । यस कवितामा निराशा र आशाभित्र प्रेम कथा, असन्तुष्ट, व्यग्यता, महिलावाद, सामाजिक यथार्थ, आयातित प्राकृतिक दृष्यहरूको समिश्रणमा प्रेमिल जीवनका सफल कथालाई अत्यन्त छोटो र मार्मिक ढङ्गबाट प्रस्तुत गरिएको छ ।
४. नवीन र भावुक कवि दिना सुवेदीद्वारा वाचन गरिएको धितालको “बिदाई” कविता गर्भवती श्रीमतीलाई छोडेर भूमिगत यात्रामा जाँदा मनभरिका गरुङ्गा भावनालाई प्रेमको झोलामा सहजै राखेर श्रीमान्लाई बिदाई गर्दै गरेको क्षणको भावनामा पीडाले उद्धत्त भएको मनलाई सान्त्वना दिँदै जीवनको यात्रा तय गर्दाको भावुक क्षणमा रचना गरिएको कविता हो । तत्कालीन समयको पार्टी पद्धतिमा उभिनेहरूको भूमिगत यात्रा, घर व्यवहार र असहज परिस्थितिमा गर्भमा आफ्नो बच्चा हुर्काइरहेकी प्रेमिकालाई छोडेर देश र जनताको हितका निम्ति संघर्ष गर्न निष्केको योद्धाको कथासँग जोडेर लेखिएको यस कवितामा प्रेम भावना छताछुल्ला पोखिए तापनि राष्ट्रप्रतिको अघाध स्नेह प्रस्तुत भएको देखिन्छ ।
५. कवि स्नेह सायमीद्वारा वाचन गरिएको धितालको “स्फटिकको चीसोभित्र कैद इतिहास” कविता पूर्ण रूपमा प्रतिकात्मक शैलीमा रचना गरिएको कविता हो । यस कवितामा पनि राष्ट्रभक्त एक नायकको क्रान्तिकारी भावना र सोचलाई प्रस्तुत गरिएको कविताले कविको भावना र चाहना देश परिवर्तनमा रहेको उत्कठ चाहनालाई प्रस्तुत गरिएको पाइन्छ । सुनौलो बिहानीको उज्यालोको कल्पना गर्दै अगाडि बढेको कुनै योद्धा, यात्रामा कतै निराश पनि हुन पुगेको यथार्थलाई प्रस्तुत गर्दै सकारात्मक सोच तर्फ फेरी अगाडि बढेको भावना यस कवितामा रहेको छ ।
६. साहित्य अनुरागी, समालोचक शार्दूल भट्टराईद्वारा वाचन गरिएको “अझै नजन्मिएको सन्तान” कविता वि.सं. २०३९ सालमा लेखिएको कविता हो । यस कवितामा आमाको गर्भमा हुर्कदैगरेको सन्तानप्रति विगतका बुवाआमा र वर्तमानका बुवाआमाले दिन खोजेको माया ममता र स्नेही भावनाको भिन्नताको वकालत गरेको देखिन्छ । गर्भमा हुर्कदै गरेको सन्तानलाई छोडेर कर्मथलोमा भौतारिएको बाबुले सन्तानप्रति देखाएको ममता, विगतमा सामाजिक र सांस्कृतिक परम्पराबाट ग्रसित संकिण जातीय, धार्मिक र परम्परागत सोचबाट विकसित पुर्खाका सोचभन्दा आफ्ना भावना र सोचहरूमा निकै भिन्नता आएको, सन्तानप्रति गर्ने मायाको भाव र सोचमा नै निकै भिन्नता भएको, चिकित्शा विज्ञानले दिएको ज्ञानको आधारमा सन्तान जन्मने, हुर्कने र बढ्ने वातावरणको यथार्थलाई बुझेका डा. साबका कविताले सामाजिक हानिकारक अभ्यास र सोचको समेत कवितात्मक शैलीमा चिरफर गरी पस्केको पाइयो । अत्यन्तै भावुक, मर्मस्पर्शी र सुन्दा तथाकथित सामाजिक सोचबाट ग्रसित समाजको यथार्थ चित्रणलाई समेत प्रतिकात्मक शैलीमा प्रस्तुत गर्दै समाज परिवर्तनको सोच अगाडि सार्दै प्रगतिवादमा नै यो कविता प्रस्तुत गरिएको देखिएको छ ।
७. प्राज्ञ तथा गायक माधव प्रधानद्वारा वाचन गरिएको “जीवन नदि” कवितामा जीवन भन्नु नै नदिजस्तै अविश्रान्त बगिरहने संघर्ष हो । जीवन एक अविरल यात्रा हो । यसलाई राम्रो बनाउन र सबैले सम्झन लायक गराउनका निम्ति कुनै न कुनै योगदानको जरुरी हुन्छ भन्दै जीवनको उकाली ओरालीलाई नदिसँग दाँजेर आशा र भरोसाको भावमा रहन आग्रह गरिएको कविताको रूपमा यो कविता उदाएको देखिन्छ ।
८. कवि तथा सर्जन डा.सरोज धिताल आफैले वाचन गर्नुभएको “आँशु, सडक र जीवन” कविता यात्रारुपी जीवनका गोरेटोहरूमा हिड्दै गरेका दृष्यलाई टपक्क टिपेर कवितात्मक भाव र लय प्रस्तुत गरिएको कविता हो । यस कवितामा यात्रा गर्दै जाँदा सडक पेटीको जीवन भोगाइमा परेको आँखालाई एक महिलाको जीवन गाथाको यथार्थ धरातललाई प्रस्तुत गर्दै सबैका फरक–फरक जीवन र भोगाइलाई कवितामा प्रस्तुत गरिएको छ । यहाँ पनि संघर्षशील जीवनका कथा हरेक पदचापमा नापिएका यथार्थ र यिनै जीवनका आँशु र दर्दले भिजेका मजेत्रोभित्रको संघर्ष प्रस्तुत गरिएको पाइन्छ । आशातित जीवनको उकालीको सपना देख्दादेख्दै सडक पेटमा आँशुमा डुबेका भूँई मान्छेका जीवनका कथा यस कवितामा पोखिएको पाइन्छ ।
९. कविवर डा. सरोज धितालले नै वाचन गर्नुभएको कविता “धरहरा लासहरूको” कविता अत्यन्तै प्रतिकात्मक कविताको रूपमा रहेको छ । धरहरालाई कविले ५ हजार वर्ष अगाडिदेखिनै चिनेको र उसले धेरै लासहरूलाई खाइसकेको र पचाएको असाध्यै राजनीतिक उतारचडावका कथात्मकतालाई प्रस्तुत गरिएको यस कविता क्रान्तिकारी भावले चुलुम्र्म डुबेको कविता हो । आशाका विजहरू छर्दाछर्दै पनि निराशाका भावहरूमा सामेल हुनुपरेको यथार्थ तर पनि आशा नमरेको झिनो भावनासँगै प्रस्तुत गरिएको कविता हो ।
१०. कवि तथा बाल अधिकार अभियन्ता तारक धितालद्वारा वाचन गरिएको “विजय” कवितामा पनि अन्य कवितामा जस्तै प्रगतिवाद र क्रान्तिकारी चेतना छताछुल्ल पोखिएको पाइन्छ । धितालका सबै कवितामा प्रतिकात्मकता र प्रगतिवाद पनि उत्तिकै सशक्त रूपमा आएको देखिन्छ भने यस कवितामा कलम र बन्दुक बीचको भिन्नताले स्वतन्त्रता हराएका भावना प्रस्फुटित गरिएको पाइन्छ । आशावाद भित्र पनि कताकता निराशा र सशस्त्र द्वन्द्वले ग्रसित समाजको उकुसमुकुस आतंकित भावनालाई यस कवितामा प्रस्तुत गरिएको छ । को विजयी भयो र हार्यो कसले ? यो त समयको पदचापले बताउने नै छ तर कवि, विजय पात्रका मार्फत आशातित शान्त समाजको परिकल्पना कविता मार्फत गर्न सबल देखिएका छन् ।
११. साहित्यकार नन्दु उप्रेतिद्वारा वाचन गरिएको “घामको सपना” कविता आसाध्यै मार्मिक र प्रतिकात्मक रहेको छ । हामी आफूले कतिपय सपनालाई छोड्न खोजे पनि संघर्षमा लागेका र भूमिगत जीवन यापन गरेका व्यक्तिहरूको देशप्रतिको सपनाले अझै पनि छोड्न नसकेको कविको भावनालाई यस कवितामा समेटिएको छ । क्रान्तिकारी भावना र प्रगतिवाद यस कवितामा पनि प्रसस्त पाइन्छ । आशा र सपना सँगै जुर्मुराएको विस्तारै निराशातिर परिणत हुन खोजेपनि फेरी झिनो सफलताका कथाले आशातिर नै डोहो¥याउन खोजेजस्तो यस कवितामा देखिएको छ । यो कविता आशा र निराशा बिचको मिश्रित भावनामा प्रस्ततु गरिएको छ ।
१२. कवि सर्जन डा. धिताल आफैले वाचन गर्नुभएको कविता “तिमीलाई चिन्दा” कविता प्रेम भावनाले भरिएको कविता हो । यस कवितामा पनि कतै प्रतिकात्मकता झल्किएको जस्तो देखिए तापनि यथार्थमा शृङ्गारिक भावशैलीमा प्रस्तुत गरिएको यस कवितामा कविले आफ्नै जीवनको यथार्थ प्रेम कथालाई प्रस्तुत गर्नुभएको हो कि जस्तो देखिन्छ । यस कविता प्रेमको प्रतिकको रूपमा प्रस्तुत भएको छ । यसरी कविका १२ वटा कविताहरू प्रस्तुत भएका थिए ।
निष्कर्ष:
चिकित्शा शास्त्रलाई पेशागत जीवनमा अंगालेर पनि नेपाली राजनीतिमा अत्यन्तै योगदान दिन सफल वि.सं. २०३५÷०३६ सालतिर भूमिगत जीवन बिताउन विवस कवि श्रष्टा धिताल हुन् । तत्कालीन समय अहिलेको जस्तो थिएन, कम्युनिष्ट भन्नेहरूले खुलेर बोल्न र चिनिन नपाउने अवस्था थियो । वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई बन्धक बनाइएको अवस्था थियो । लुकेर, छिपेर कविता वाचन गर्नुपर्दथ्यो, त्यस्तो अवस्थामा पनि आफ्ना क्रान्तिकारी सोच र भावले भरिएका प्रगतिवादी कविता रचना गर्न सफल कविका रूपमा धिताललाई चिनिन्छ । आफ्ना मनका इच्छा, चाहना र भावनालाई लुकाएर राजनीति, समाज परिवर्तन र राष्ट्रप्रति बफादार भएर कर्मनिष्ठ यात्रामा लाग्नु परेको यथार्थ अभिव्यक्ति उनका कवितामा पाइन्छ । हाल उनी बुद्ध दर्शनबाट प्रभावित छन् ।
यस शृङ्खलामा प्रस्तुत भएका १२ वटा कविताहरू मध्ये ४ वटा कविता प्रेमभावभित्र पनि प्रगतिवाद र क्रान्तिकारी सोचबाट प्रेरित भएको देखिएका छन् भने बाँकी कविताहरू पूर्णरूपमा प्रतिकात्मक, प्रगतिवाद, क्रान्तिकारी चेत, प्रकृतिको चित्रणसँगै मानव जीवनको र हाम्रो समाजको यथार्थसँग जोडिएर प्रस्तुत गरिएका छन् । कवि धितालका सबै कविताहरू सकारात्मक शैलीमा छन्, कतै निराशातिर मोडिन खोजेको हो कि भन्न नपाउँदै फेरी आशातित भावनासँग फर्किएको देखिन्छ । श्रष्टाहरूका सिर्जना सधै समाज परिवर्तनका निम्ति सकारात्मक सोचबाट परिवर्तनको कल्पना गर्नुपर्दछ भन्ने सिद्धान्तबाट उनका कविता प्रेरित भएका जस्ता देखिन्छन् । गर्भवती श्रीमतीलाई र गर्भमा हुर्कदै गरेका सन्तानलाई छोडेर भूमिगत जीवनको यात्रा व्यतित गरे तापनि क्रान्ति चेतले चुर्लुम्म डुबेका कविता लेख्ने एक आफ्नै कवि पहिचान बनाउन सफल कविका रूपमा डा. धिताललाई चिनिएको छ । उनका कवितामा कसैको शैलीको अनुशरण गरिएको देखिदैन । गद्यशैलीमा लेखिएका सबै कविताहरू प्रगतिवाद र क्रान्तिचेतबाट उत्कर्षमा पुगेको देखिन्छ ।

Write your Comment