आज:  २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026 Search
FLASH NEWS

नवलपुरमा बाल विवाह अन्त्यका लागि युवादेखि जनप्रतिनिधिसम्म एकजुट

    प्रकाशित २०८२ माघ २५, आईतबार (३ हफ्ता अघि)


नवलपुर । बाल विवाहमुक्त नेपाल २०८२ लक्ष्यसहित सञ्चालन गरिएको १०० दिने अभियान अन्तर्गत नवलपुरमा आयोजित सरोकारवाला अभिमुखीकरण तथा प्रतिबद्धता कार्यक्रममा सहभागीहरुले बाल बिवाह अन्त्यका लागि सामुहिक जिम्मेवारी, नेतृत्व र साझेदारी आवश्यक रहेकोमा जोड दिएका छन्। बाल क्लब संजाल, किशोरी समूह, युवाक्लबका पदाधिकारी, जनप्रतिनिधि, सामाजिक संघ–संस्था, धर्मगुरुहरु, संचारकर्मीहरु, नेपाल प्रहरी तथा अन्य सरोकारवाला निकायको उपस्थितिमा अभिमुखीकरण भएको हो ।

किशोरी अभियन्ता सवनम सुनारले स्थानीय गाउँमा सरोकारवालाहरुको मौन स्वीकृतिले बाल विवाह र हिंसा बढदै गएकोले बालबालिकाको लागि सबैले सोच्नुपर्नेमा जोड दिनुभयो ।
कावासोती नगर युवा संजालका अध्यक्ष पवन भुर्तेलले युवाको भूमिकाबारे बोल्दै भन्नुभयो, “युवा संजाल मिलेर १०० दिने अभियानमा सक्रिय सहयोग गर्नेछौं। बाल विवाह अन्त्य सबैको साझा चासोको विषय भएकाले युवाहरुले समुदायस्तरमै नेतृत्व लिन आवश्यक छ।”

कुमारी शैक्षिक गुठीका कार्यकारी निर्देशक अमृत पन्थीले बाल विवाहका दीर्घकालीन असरबारे ध्यानाकर्षण गराउँदै भन्नुभयो- “बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र मानसिक विकासमा गम्भीर असर पार्छ। यसले बालबालिकाको सुन्दर संसार नै समाप्त गरिदिन्छ, त्यसैले यसप्रति सबैले गम्भीर ध्यान दिन जरुरी छ।”


देवचुली नगरपालिका वडा नं. ९ का अध्यक्ष तथा देवचुली नगरपालिका न्यायिक समितिका सदस्य बलिराम सापकोटाले जनप्रतिनिधिको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो।जनप्रतिनिधिले नेतृत्व गर्ने र समुदाय, संघ–संस्था तथा नागरिकले सहयोग गरेमा बाल विवाहलाई क्रमशः न्यूनीकरण गर्दै लैजान सकिने उहाँले बताउनुभयो ।

जिल्ला बाल अधिकार समिति नवलपुरका अध्यक्ष नारायण प्रसाद पौडेलले सचेतना र जिम्मेवारी सबै तहको हुनुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार बाल बिवाह अन्त्यका लागि सरकार, समुदाय र व्यक्तिको समान जिम्मेवारी हुन्छ। यस्ता हानिकारक क्रियाकलापविरुद्ध सबै एकजुट भएर लाग्न आवश्यक छ।

मध्यबिन्दु नगरपालिकाकी उप–प्रमुख पूर्णकला चौधरीले बाल विवाह आजकल आफैं निर्णय गरेर गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । अहिले किशोरकिशोरीहरुले बाल विवाह आफैं गर्ने अवस्था देखिएको छ, त्यसैले व्यक्ति–व्यक्तिलाई जिम्मेवार बनाउने अभियान आवश्यक छ, यस्ता कार्यक्रमले त्यसमा ठूलो सहयोग पुर्‍याउनेछ र नगरपालिकाले अभियानलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै, कावासोती नगरपालिकाकी उप–प्रमुख फूलकुमारी थनेतले स्थानीय तहको तर्फबाट पूर्ण सहकार्यको प्रतिबद्धता जनाउनुभयो।
उहाँले भन्नुभयो पालिका सबै सरोकारवालासँग हातेमालो गरेर अगाडि बढ्न तयार छ। बाल बिवाह अन्त्यका लागि सबै जिम्मेवार बन्न आग्रह गर्दछु।

कार्यक्रममा सहभागीहरुले आ–आफ्नो पालिकामा विद्यमान बाल विवाहको अवस्था, समस्या र चुनौतीबारे अनुभव साटासाट गरेका थिए। सत्रको सहजीकरण अधिवक्ता तथा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष भूपेन्द्र खनाल र जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रकाश शर्मा पौडेलले गर्नुभएको थियो। कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपाल, जस्ट राइट्स फर चिल्ड्रेन नेपाल, क्यान्नलन, तथा नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

१०० दिने बाल विवाह अन्त्य अभियान नेपालका सातै प्रदेशमा एकैसाथ सञ्चालन भइरहेको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरुले बाल बिवाह अन्त्यका लागि निरन्तर समन्वय, सचेतना र स्थानीय तहमा संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Write your Comment