

देवचुली । देवचुली १० मा भएको दोस्रो देवचुली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोन्स्टर गाइज सुनवलले जितेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा देवचुली नगर रंगशालामा मंसिर १० गतेदेखि २४ गतेसम्म संचालित प्रतियोगितामा मोन्स्टर गाइज सुनवल र अठाइस बिगाहा युवा क्लब कावासोतीबीच भएको फाइनल खेलमा मोन्स्टर गाइज सुनवल विजयी भएको हो ।

मोन्स्टर गाइज सुनवलले अठाइस बिगाहा युवा क्लब कावासोतीलाई ट्राईबेकरमा ५-४ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट २/२ को बराबरी गोल भएसँगै खेल ट्राइबेकरमा गएको थियो । निर्धारित समयको खेलमा मोन्स्टर गाइज सुनवलका सुरज चौधरी र मनिष तामाङले १/१ गोल गरेका थिए भने अठाइस बिगाहा युवा क्लबका दिडयोङ नाना र सुजित बुढाथोकीले १/१ गोल गरेका थिए । फाइनल खेलमा मोन्स्टर गाइज सुनवलका सुरज चौधरी म्यान अफ दि म्याच भएका थिए ।
१४ टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेता मोन्स्टर गाइज सुनवलले ३ लाख रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता २८ बिगाहा युवा क्लबले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिएका कमलडाँडा फुटबल क्लब र गण्डकी प्रदेश फुटबल क्लबले २५/२५ हजार प्राप्त गरेका छन् ।

त्यसै गरि २८ बिगाहा युवा क्लबका सकिन गुरुङ उत्कृष्ट खेलाडी, मोन्स्टर गाइज सुनवलका माधव तिवारी सर्वोकृष्ट गोलरक्षक, २८ बिगाहा युवा क्लबका आशिष चौधरी सर्वाधिक गोलकर्ता भएका थिए । उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पुरस्कार प्राप्त गरेका छन् ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको थियो ।