

देवचुली । देवचुली नगरपालिका–१४ मा ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । देवचुली–१४ वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम ज्येष्ठ नागरिकप्रति सम्मान, कदर र सामाजिक जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

वडा अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिकाका कार्यपालिका सदस्य पार्वती कंडेल अर्याल, वडा सदस्यहरू, वडा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष तोयनाथ न्यौपाने तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा कार्यालयले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गर्दै प्रत्येकलाई १ किलो मह वितरण गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोपाल थापाले समाज निर्माणमा ज्येष्ठ नागरिकहरूको योगदान अमूल्य रहेको उल्लेख गर्दै उनीहरूको सम्मान र संरक्षण वडा कार्यालयको प्राथमिकता रहेको बताउनुभयो । आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई लक्षित कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य पार्वती कंडेल अर्यालले ज्येष्ठ नागरिकहरू ज्ञान, अनुभव र संस्कारका धरोहर भएको उल्लेख गर्दै उनीहरूको सम्मानले नयाँ पुस्तालाई पनि सकारात्मक सन्देश दिने बताउनुभयो । कार्यक्रममा वडा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष तोयनाथ न्यौपानेले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकको आत्मसम्मान बढाउने र सामाजिक एकताको भावना बलियो बनाउने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन वडा सदस्य मनोज श्रेष्ठले गर्नुभएको थियो भने कार्यपालिका सदस्य पार्वती कंडेल अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो ।