

देवचुली । देवचुली–१०, पृथ्वीनगरको शान्तिदीप युवा क्लब र भिएक्सएल एजुकेसन, कावासोती (भिएक्सएल एजुकेसन कन्सल्टेन्सी प्रा.लि.) बीच आपसी सहकार्यका लागि सम्झौता भएको छ । शिक्षा, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यले दुवै संस्थाबीच बुधबार औपचारिक सम्झौता गरिएको हो ।

भिएक्सएल एजुकेसन कावासोतीका निर्देशक राजेश खरेल र शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार शान्तिदीप युवा क्लबले आयोजना गर्ने विभिन्न खेलकुद, सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालनमा भिएक्सएल एजुकेसन कावासोतीले सहयोग पुर्याउनेछ। भिएक्सएल एजुकेसनले क्लबलाई प्रति वर्ष वार्षिक १ लाख सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौताको अवधि हस्ताक्षर भएको मितिदेखि दुई वर्षसम्म रहने क्लबका अध्यक्ष घर्ती मगरले जानकारी दिए ।

सम्झौता पश्चात शान्तिदिप युवा क्लबले फुटबल प्रतियोगितामा सहभागिता जनाउँदा भिएक्सएल एजुकेसन शान्तिदिप युवा क्लबको नाममा सहभागी हुनुपर्ने भएको छ । भिएक्सएल एजुकेसनले क्लबलाई जर्सी उपलब्ध गराउने र क्लबले सिफारिस गरेका विद्यार्थीलाई भाषा कक्षामा ५० प्रतिशत छुट प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौता कार्यक्रममा बोल्दै भिएक्सएल एजुकेसन कावासोतीका निर्देशक राजेश खरेलले सामाजिक उतरदायित्व अन्तरगत क्लबसँग सहकार्य सुरु गरिएको र खेलाडी युवाहरुलाई प्रोत्साहन तथा मनोबल वृद्धि गर्न यस्ता कार्यले सहयोग पुग्ने बताए ।
सम्झौता कार्यक्रममा क्लबका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम भिएक्सएल एजुकेसन कावासोतीको कार्यालयमा सम्पन्न भएको हो ।