

देवचुली । देवचुली – १० मा संचालित भि एक्स एल एजुकेसन दोस्रो देवचुली गोल्डकप फुटबल प्रतियोगितामा अठ्ठाइस बिगाहा युवा क्लब कावासोती फाइनल प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा नगर रंगशाला देवचुली-१० मा मंगलबार भएको खेलमा अठ्ठाइस बिगाहा युवा क्लब विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।

मंगलबार कमलडाँडा फुटबल क्लब हेटौंडाका विरुद्ध अठ्ठाइस बिगाहा युवा क्लबबिच भएको पहिलो सेमिफाइनल खेलमा अठ्ठाइस बिगाहा युवा क्लबले कमलडाँडा फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै फाइनलमा पुग्न सफल भएको हो । आजको खेलमा अठ्ठाइस बिगाहा युवा क्लबका आशिष महतो र नवीन मगरले १/१ गोल गरेका थिए । खेलमा अठ्ठाइस बिगाहा क्लबका खेलाडी सुजित बुढाथोकी म्यान अफ दि म्याच भएका थिए ।
१४ टिमको सहभागिता संचालन भइरहेको प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो । प्रतियोगितामा बुधबार मोनस्टर गाइज सुनवलका विरुद्ध गण्डकी प्रदेश प्रहरी फुटबल क्लब बिच दोस्रो सेमिफाइनलको खेल हुने आयोजकले जनाएको छ ।

देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ ।