

नवलपुर । मध्यबिन्दु नगरपालिका वडा नम्बर १० मा वडास्तरीय बाल क्लब पुनर्गठन गर्दै बाल क्लबका पदाधिकारीहरू तथा बालबालिकालाई लक्षित गरी बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मध्यबिन्दु-१० आरुङखोला स्थित जनता माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम गरिएको हो। कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा, क्यान्नलानको सहयोग तथा जिल्ला प्रहरी कार्यालय र मध्यबिन्दु नगरपालिका वडा नं. १० को समन्वयमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष तथा साथी शिक्षक शिरिस्का अधिकारीको सभाध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा वडा सदस्य डिलमाया परियार र विशेष अतिथिका रूपमा विद्यालय बाल क्लबका सम्पर्क शिक्षक रमेश न्यौपाने सहभागी रहनु भएको थियो। कार्यक्रममा शिक्षकशिक्षिकाहरू, साथी शिक्षकहरू तथा बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालकी सिनियर कार्यक्रम अधिकृत राधादेवी बोटेले कार्यक्रमको उद्देश्य, किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा, पालिका, विद्यालय तथा समुदायस्तरमा सञ्चालन भइरहेका गतिविधिहरू र बालमैत्री स्थानीय शासन अभियानको अवधारणा तथा महत्व बारे सहभागीहरूलाई जानकारी गराउनु भयो। त्यसैगरी साथी शिक्षक रितु घर्ती मगरले बाल अधिकारको अवधारणा, किशोरी अधिकार, बालबालिकामाथि समस्या, हिंसा वा दुर्व्यवहार परेको अवस्थामा समन्वय गर्न सकिने निकायहरू तथा उपलब्ध हटलाइन नम्बरहरू बारे जानकारी दिनु भयो। साथै, साथी शिक्षक शिरिस्का अधिकारीले आफूले प्राप्त गरेका तालिम, सिकाइ अनुभव तथा बाल क्लबका भूमिका र जिम्मेवारीबारे प्रकाश पार्नु भयो।

कार्यक्रममा विद्यालय बाल क्लबका सम्पर्क शिक्षक रमेश न्यौपानेले बालबालिकालाई अधिकारसँगै कर्तव्यबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ परिस्कृत र विषयगत कार्यक्रमहरू सञ्चालन गर्न अनुरोध गर्नु भयो। उहाँले नवगठित बाल क्लबका पदाधिकारीहरूले सिकेका ज्ञान र सीप व्यवहारिक रूपमा उपयोगी हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनु भयो।
कार्यक्रमका प्रमुख अतिथि डिलमाया परियार ले बालबालिकाहरू सधैं सक्रिय, सचेत र आत्मविश्वासी हुनुपर्ने उल्लेख गर्दै व्यक्तित्व विकासका लागि खेलकुद र सिर्जनात्मक गतिविधिमा सहभागी हुन प्रेरित गर्नु भयो। उहाँले हिंसा तथा दुर्व्यवहारबाट जोगिन राम्रो र नराम्रो स्पर्शबारे आफैं सचेत हुनुपर्नेमा पनि जोड दिनु भयो।
सभाध्यक्ष शिरिस्का अधिकारीले बाल क्लबले समुदायमा समस्यामा परेका बालबालिकाको अधिकार संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउँदै यस्ता विषयमा बाल क्लब सदैव प्रतिबद्ध रहने धारणा व्यक्त गर्नु भयो।

कार्यक्रमका क्रममा सहभागी बालबालिकालाई बाल अधिकार तथा बालसम्बन्धी कानुनी जानकारीका पुस्तक, बालमैत्री स्थानीय शासन सम्बन्धी सामग्री तथा बाल विवाह सम्बन्धी कथापुस्तक वितरण गरिएको थियो। साथै ११ सदस्यीय वडास्तरीय बाल क्लबको पुनर्गठन सफलतापूर्वक सम्पन्न गरिएको छ।