

कावासोती । कावासोती नगरपालिकामा संचालन भएको अन्तर विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिताको उपाधी छात्रातर्फ जनकल्याण मावि र छात्रतर्फ जनता मावि शहिदनगरले जितेको छ । कावासोती नगर खेलकुद विकास समितिको आयोजना, डायमण्ड युथ सोसाइटीको व्यवस्थापन र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा डायमण्ड युथ सोसाइटीको खेलमैदान, कावासोती-१२ राजमन्दिरमा संचालित प्रतियोगितामा फाइनल खेलमा जित निकाल्दै छात्रातर्फ जनकल्याण मावि र छात्रतर्फ जनता माविले उपाधि निकालेका हुन् ।
सोमबार छात्रातर्फ जनकल्याण मावि रिठ्ठेपानीका विरुद्ध शान्ति निकुञ्ज माविबीचको फाइनल खेलमा जनकल्याण मावि विजयी हुँदै उपाधि जितेको हो । जनकल्याणले शान्ति निकुञ्जलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले हराएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । फाइनल खेलमा जनकल्याण माविकी आरती बिक म्यान अफ दि म्याच भएकी थिइन्।

छात्रतर्फ सरस्वती मावि हसौराका विरुद्ध जनता मावि शहिदनगर बीचको फाइनल खेलमा जनता मावि शहिदनगर १-० गोल अन्तरले विजयी हुँदै उपाधि जितेको हो । खेलमा जनता मावि शहिदनगका प्रयास रिमालले गोल गरेका थिए । छात्रतर्फको फाइनल खेलमा जनता मावि शहिदनगरका प्रयास रिमाल म्यान अफ दि म्याच भएका थिए ।
छात्रातर्फ बिजेता जनकल्याण माविले नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप-बिजेता शान्ति निकुञ्ज माविले नगद ५ हजार रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । त्यसै गरि छात्रातर्फ सेमिफाइनल पुग्ने जनता मावि शहिदनगर र सरस्वती मावि हसौराले २/२ हजार प्राप्त गरेका छन् । त्यसै गरि छात्रातर्फ शान्ति निकुञ्ज माविकी सावित्रा सेन ठकुरी उत्कृष्ट डिफेन्स, जनकल्याण माविकी खतिजा खातुङ उत्कृष्ट मिडफिल्डर, जनता मावि शहिदनगरकी आरती परियार उत्कृष्ट फरवार्ड, सरस्वती मावि हसौराकी सिम्रन डिस्वा सर्वाधिक गोलकर्ता, जनकल्याण माविकी सिम्रन गिरी उत्कृष्ट गोलरक्षक र शान्ति निकुञ्ज माविकी प्रतीक्षा नेपाली खेल अवधिभर उत्कृष्ट खेलाडी भएका थिए ।

छात्रतर्फ बिजेता जनता मावि शहिदनगरले नगद ३० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप-बिजेता सरस्वती मावि हसौराले नगद २० हजार रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि छात्रतर्फ सेमिफाइनल पुग्ने शान्ति निकुञ्ज मावि र लुम्बिनी आवासीय माविले ५/५ हजार रुपैयाँँ प्राप्त गरेका छन् । त्यसै गरि सरस्वती मावि हसौराका आदित्य बिक उत्कृष्ट डिफेन्स, जनता मावि शहिदनगरका विवेक सुनार उत्कृष्ट मिडफिल्डर, जनता मावि शहिदनगरका सम्राट खत्री उत्कृष्ट फरवार्ड, सरस्वती मावि हसौराका विपिन सुनार सर्वाधिक गोलकर्ता, जनता मावि शहिदनगरका रोशन मल्ल उत्कृष्ट गोलरक्षक र सरस्वती माविका विपिन परियार खेल अवधिभर उत्कृष्ट खेलाडी भएका खेल संयोजक सुमन क्षेत्रीले जानकारी दिए ।
छात्रतर्फ १६ वटा विद्यालय र छात्रातर्फ ६ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको सोमबार कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको समापन समारोहमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुन, जिल्ला फुटबल संघका कार्यवाहक अध्यक्ष मेघराज पाण्डे, विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, खेलाडी, अभिभावक तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।