

कावासोती । कावासोती नगरपालिकामा जारी अन्तर विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिता अन्तरगत शनिबार छात्रतर्फ सरस्वती मावि हसौरा र जनता मावि सहिदनगर फाइनल प्रवेश गरेका छन् भने छात्रातर्फ शान्ति निकुञ्ज मावि फाइनल प्रवेश गरेको हो । कावासोती नगर खेलकुद विकास समितिको आयोजना, डायमण्ड युथ सोसाइटीको व्यवस्थापन र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा डायमण्ड युथ सोसाइटीको खेलमैदान, कावासोती-१२ राजमन्दिरमा संचालित प्रतियोगितामा छात्रतर्फ सरस्वती र जनता साथै छात्रातर्फ शान्ति निकुञ्ज मावि फाइनल प्रवेश गरेका हुन् ।
शनिबार छात्रतर्फ सरस्वती मावि हसौराका विरुद्ध शान्ति निकुञ्ज माविबीचको पहिलो खेलमा सरस्वती मावि हसौरा विजयी हुँदै फाइनल प्रवेश गरेको हो । सरस्वती मावि हसौराले शान्ति निकुञ्ज माविलाई ४-२ गोल अन्तरले हराएको हो । खेलमा सरस्वती मावि हसौराका विपिन परियारले २ गोल, सुदीप बिक र बिशन नेपालीले १/१ गोल गरेका थिए भने शान्ति निकुञ्ज माविका बिबेक रानाले २ गोल गरेका थिए । पहिलो खेलमा सरस्वती मावि हसौराका आदित्य बिक म्यान अफ दि म्याच भएका थिए।
छात्रातर्फ सरस्वती मावि हसौराका विरुद्ध शान्ति निकुञ्ज मावि बीचको दोस्रो खेलमा शान्ति निकुञ्ज मावि १-० गोल अन्तरले विजयी हुँदै फाइनल प्रवेश गरेको छ । खेलमा शान्ति निकुञ्ज माविकी प्रतीक्षा नेपालीले १ गोल गरेकी थिइन् । दोस्रो खेलमा शान्ति निकुञ्ज माविकी प्रतीक्षा नेपाली म्यान अफ दि म्याच भएकी थिइन् ।
शनिबार नै भएको छात्रतर्फ लुम्बिनी आवासीय माविका विरुद्ध जनता मावि शहिदनगरबीच तेस्रो खेलमा जनता मावि शहिदनगर ५-२ गोल अन्तरले विजयी हुँदै फाइनल प्रवेश गरेको छ । खेलमा जनता मावि शहिदनगरका सम्राट खत्रीले २ गोल, सुदीप परियार, राज बिक र बिबेक सुनारले १/१ गोल गरेका थिए भने लुम्बिनी आवासीय माविका एप्रोन तामाङले २ गोल गरेका थिए । तेस्रो खेलमा जनता मावि शहिदनगरका बिबेक सुनार म्यान अफ दि म्याच भएका थिए ।
छात्रतर्फ १६ वटा विद्यालय र छात्रातर्फ ६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ प्रथम, द्वितीय हुने विद्यालयले क्रमशः ३० हजार र २० हजार रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रतर्फ सेमिफाइनलसम्म पुग्ने विद्यालयलाई ५/५ हजार रुपैयाँँ प्राप्त गर्नेछन् । त्यसै गरि छात्रातर्फ प्रथम र द्वितीय हुने विद्यालयले १० हजार र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रातर्फ सेमिफाइनल पुग्ने विद्यालयले २/२ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा छात्र तथा छात्रातर्फ उत्कृष्ट खेलाडी, डिफेन्स, मिड फिल्डर र गोल रक्षकलाई ट्रफी प्रदान गरिने जनाइएको छ । प्रतियोगिता अन्तरगत सोमबार छात्रतर्फ सरस्वती मावि हसौराका विरुद्ध जनता मावि शहिदनगर र छात्रातर्फ जनकल्याण मावि रिठ्ठेपानीका विरुद्ध शान्ति निकुञ्ज मावि पिठौलीबीच फाइनल खेल हुने खेल संयोजक सुमन क्षेत्रीले जानकारी दिए ।