आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

मध्यविन्दु-२ मा महिनावारी स्वच्छता तथा घरायसी प्याड निर्माण तालिम सम्पन्न

    प्रकाशित २०८२ माघ ३, शनिबार (३ हफ्ता अघि)


नवलपुर । मध्यविन्दु नगरपालिका वडा नम्बर २ मा आमा समूह तथा किशोरीहरूलाई लक्षित गरी महिनावारी स्वच्छता व्यवस्थापन तथा घरायसी प्याड निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ। मध्यविन्दु वडा नं. २ को वडा कार्यालय र जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा तथा आमा समूहको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको हो। क्यान्नलानको सहयोग र मध्यविन्दु नगरपालिकाको समन्वयमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत साथी शिक्षकहरूको सहजीकरणमा तालिम सम्पन्न गरिएको हो।

मध्यविन्दु-२ का वडा अध्यक्ष रामभक्त अधिकारीको अध्यक्षतामा भएको तालिममा आमा समूह तथा शिव शक्ति महिला समूहकी प्रतिनिधि उमा पाठक प्रमुख आतिथ्यता र विशेष अतिथिमा नगर कार्यपालिका सदस्य नारायणी कार्की रहनु भएको थियो। कार्यक्रमको सञ्चालन साथी शिक्षक कोपिला कुमारी महतोले गर्नु भएको थियो।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालकी सिनियर कार्यक्रम अधिकृत राधादेवी बोटेले संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रम तथा किशोरीहरूले विभिन्न तालिममार्फत सिकेका सीपहरू विद्यालय तथा समुदायमा साझा गर्दै आएको जानकारी गराउनु भयो। उहाँले समुदायमा अझै पनि महिनावारी स्वच्छताबारे खुला छलफल र पर्याप्त सचेतना नभएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको उल्लेख गर्दै, स्वच्छ व्यवहारको अभ्यास, अन्तरपुस्ता बीच अनुभव आदानप्रदान तथा घरायसी सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो।

तालिममा साथी शिक्षक रितु घर्ती मगरले महिनावारी तथा प्रजनन स्वास्थ्य, स्वच्छताको महत्व र महिनावारीको समयमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिनु भएको थियो। त्यस्तैगरी साथी शिक्षक सुनिक्षा बोटे ले घरायसी प्याड र बजारमा उपलब्ध प्याडका फाइदा तथा बेफाइदाबारे सहजीकरण गर्नु भयो । तालिममा सहभागी किशोरी सृष्टि थापा मगरले आफ्नै उमेरको साथीले सिकाएको तालिममा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा अन्य विषयमा कार्यक्रम संचालन गर्न अनुरोध गर्नु भयो ।

तालिमका प्रमुख अतिथि उमा पाठकले छोरी सरह किशोरीहरुबाट  घरायसी प्याड बनाउन सिक्न पाउनु अत्यन्त सकारात्मक भएको बताउँदै, तालिमबाट आफूले पनि नयाँ कुरा सिक्न पाएको र अब घरमा छोरी, बुहारी तथा अन्य दिदीबहिनीहरूलाई पनि सिकाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

तालिमको क्रममा वडा अध्यक्ष रामभक्त अधिकारीले यस्ता कार्यक्रमहरू वडा भित्रका महिला तथा किशोरीहरूको स्वास्थ्य र सशक्तीकरणका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले आगामी दिनमा आमा समूह तथा टोलबाट यस्ता कार्यक्रमका लागि माग आएमा वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै वडा कार्यालयमार्फत आपतकालीन अवस्थामा महिलाहरू र किशोरीहरूका लागि महिनावारी सामग्रीको तत्काल व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Write your Comment