

कावासोती । कावासोती नगरपालिकामा जारी अन्तर विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार छात्रतर्फ सरस्वती मावि हसौरा, लुम्बिनी आवासीय मावि र जनता मावि सहिदनगर सेमिफाइनल प्रवेश गरेका छन् भने छात्रातर्फ जनकल्याण मावि फाइनल प्रवेश गरेको हो । कावासोती नगर खेलकुद विकास समितिको आयोजना, डायमण्ड युथ सोसाइटीको व्यवस्थापन र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा डायमण्ड युथ सोसाइटीको खेलमैदान, कावासोती-१२ राजमन्दिरमा संचालित प्रतियोगितामा छात्रतर्फ सरस्वती, लुम्बिनी, जनता सेमिफाइनल र छात्रातर्फ जनकल्याण फाइनल प्रवेश गरेका हुन् ।
शुक्रबार छात्रतर्फ सरस्वती मावि हसौराका विरुद्ध सेन्ट पौल इङ्गलिस बोर्डिङबीचको पहिलो खेलमा सरस्वती मावि हसौरा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो । सरस्वती मावि हसौराले सेन्ट पौललाई ४-० गोल अन्तरले हराएको हो । खेलमा सरस्वती मावि हसौराका विपिन परियारले २ गोल, सुदीप बिक र रोशन मिधुनले १/१ गोल गरेका थिए । पहिलो खेलमा सरस्वती मावि हसौराका विपिन परियार म्यान अफ दि म्याच भएका थिए।
छात्रतर्फ नवलपुर एकेडेमी डण्डाका विरुद्ध लुम्बिनी आवासीय माविबीचको दोस्रो खेलमा लुम्बिनी आवासीय मावि २-० गोल अन्तरले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । खेलमा लुम्बिनी आवासीय माविका अप्रोन थापाले २ गोल गरेका थिए । दोस्रो खेलमा लुम्बिनी आवासीय माविका अप्रोन थापा म्यान अफ दि म्याच भएका थिए ।
छात्रातर्फ जनता मावि शहिदनगरका विरुद्ध जनकल्याण मावि रिठ्ठेपानीबीच तेस्रो खेलमा जनकल्याण मावि १-० गोल अन्तरले विजयी हुँदै फाइनल प्रवेश गरेको छ । खेलमा जनकल्याण माविकी खतिजा खातुङले १ गोल गरेकी थिइन् । तेस्रो खेलमा जनकल्याण माविकी खतिजा खातुङ म्यान अफ दि म्याच भएकी थिइन् ।
शुक्रबार नै भएको छात्रतर्फ सरस्वती मावि गोछडाका विरुद्ध जनता मावि शहिदनगरबीच चौथो खेलमा जनता मावि शहिदनगर ३-१ गोल अन्तरले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । खेलमा जनता मावि शहिदनगरका सबिन बोटेले २ गोल र शेरबहादुर परियारले १ गोल गरेका थिए भने सरस्वती मावि गोछडाका हिमाल महतोले १ गोल गरेका थिए । चौथो खेलमा जनता मावि शहिदनगरका सबिन बोटे म्यान अफ दि म्याच भएका थिए ।
छात्रतर्फ १६ वटा विद्यालय र छात्रातर्फ ६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ प्रथम, द्वितीय हुने विद्यालयले क्रमशः ३० हजार र २० हजार रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रतर्फ सेमिफाइनलसम्म पुग्ने विद्यालयलाई ५/५ हजार रुपैयाँँ प्राप्त गर्नेछन् । त्यसै गरि छात्रातर्फ प्रथम र द्वितीय हुने विद्यालयले १० हजार र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रातर्फ सेमिफाइनल पुग्ने विद्यालयले २/२ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा छात्र तथा छात्रातर्फ उत्कृष्ट खेलाडी, डिफेन्स, मिड फिल्डर र गोल रक्षकलाई ट्रफी प्रदान गरिने जनाइएको छ । प्रतियोगिता अन्तरगत शनिबार छात्रतर्फ शान्ति निकुञ्ज माविका विरुद्ध सरस्वती मावि हसौराबीच पहिलो सेमिफाइनल र लुम्बिनी आवासीय माविका विरुद्ध जनता मावि शहिदनगरबीच दोस्रो सेमिफाइनल खेल साथै छात्रातर्फ सरस्वती मावि हसौराका शान्ति निकुञ्ज माविबीच सेमिफाइनल खेल हुने खेल संयोजक सुमन क्षेत्रीले जानकारी दिए ।