आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

अन्तर विद्यालय फुटबल प्रतियोगिता: छात्रातर्फ सरस्वती र छात्रतर्फ शान्ति निकुञ्ज सेमिफाइनल प्रवेश

    प्रकाशित २०८२ माघ २, शुक्रबार (३ हफ्ता अघि)


कावासोती । कावासोती नगरपालिकामा जारी अन्तर विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिता अन्तरगत बिहीबार छात्रातर्फ सरस्वती मावि हसौरा र छात्रतर्फ शान्ति निकुञ्ज मावि सेमिफाइनल प्रवेश गरेका छन् । कावासोती नगर खेलकुद विकास समितिको आयोजना, डायमण्ड युथ सोसाइटीको व्यवस्थापन र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा डायमण्ड युथ सोसाइटीको खेलमैदान, कावासोती-१२ राजमन्दिरमा संचालित प्रतियोगितामा छात्रातर्फ सरस्वती मावि हसौरा र छात्रतर्फ शान्ति निकुञ्ज मावि सेमिफाइनल प्रवेश गरेका हुन् ।

बिहीबार छात्रातर्फ छात्रातर्फ सरस्वती मावि हसौराका विरुद्ध सेन्ट पौल इङ्गलिस बोर्डिङबीचको पहिलो खेलमा सरस्वती मावि हसौरा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो । सरस्वती मावि हसौराले सेन्ट पौललाई ३-० गोल अन्तरले हराएको हो । खेलमा सरस्वती मावि हसौराकी सिम्रन दिस्वाले २ गोल र गुरन सारुले १ गोल गरेका थिए । पहिलो खेलमा सरस्वती मावि हसौराकी खेलाडी सिम्रन दिस्वा म्यान अफ दि म्याच भएकी थिइन् ।

छात्रतर्फ छात्रतर्फ शान्ती निकुञ्ज माविका विरुद्ध ज्ञानोदय माविबिचको दोस्रो खेलमा शान्ति निकुञ्ज मावि ३-१ गोल अन्तरले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । खेलमा शान्ति निकुञ्ज माविका सन्देश महतोले २ गोल र बिराज बिकले १ गोल गरेका थिए भने ज्ञानोदय माविका आशिष महतोले १ गोल गरेका थिए । दोस्रो खेलमा शान्ति निकुञ्ज माविका अमन थापा मगर म्यान अफ दि म्याच भएका थिए ।

छात्रतर्फ १६ वटा विद्यालय र छात्रातर्फ ६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ प्रथम, द्वितीय हुने विद्यालयले क्रमशः ३० हजार र २० हजार रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रतर्फ सेमिफाइनलसम्म पुग्ने विद्यालयलाई ५/५ हजार रुपैयाँँ प्राप्त गर्नेछन् । त्यसै गरि छात्रातर्फ प्रथम र द्वितीय हुने विद्यालयले १० हजार र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रातर्फ सेमिफाइनल पुग्ने विद्यालयले २/२ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा छात्र तथा छात्रातर्फ उत्कृष्ट खेलाडी, डिफेन्स, मिड फिल्डर र गोल रक्षकलाई ट्रफी प्रदान गरिने जनाइएको छ । प्रतियोगिता अन्तरगत शुक्रबार छात्रतर्फ सरस्वती मावि हसौराका विरुद्ध सेन्ट पौल इङ्गलिस बोर्डिङ पहिलो खेल, नवलपुर एकेडेमी डण्डाका विरुद्ध लुम्बिनी आवासीय माविबीच दोस्रो खेल, छात्रातर्फ जनता मावि शहिदनगरका विरुद्ध जनकल्याण माटि रिठ्ठेपानीबीच तेस्रो खेल र छात्रतर्फ सरस्वती मावि गोछडाका विरुद्ध जनता मावि शहिदनगरबीच चौथो खेल हुने खेल संयोजक सुमन क्षेत्रीले जानकारी दिए ।

Write your Comment