आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

अन्तर विद्यालय फुटबल प्रतियोगिता: बुधबार छात्रतर्फ पहिलो चरणका खेलहरु सम्पन्न

    प्रकाशित २०८२ माघ १, बिहिबार (३ हफ्ता अघि)


कावासोती । कावासोती नगरपालिकामा जारी अन्तर विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिता अन्तरगत बुधबार छात्रतर्फ भएका खेलमा सेन्ट पौल इङ्गलिस बोर्डिङ , सरस्वती मावि गोछ्डा, जनता मावी शहिदनगर र छात्रातर्फ जनता मावि सहिदनगर विजयी भएका छन् । कावासोती नगर खेलकुद विकास समितिको आयोजना, डायमण्ड युथ सोसाइटीको व्यवस्थापन र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा डायमण्ड युथ सोसाइटीको खेलमैदान, कावासोती-१२ राजमन्दिरमा संचालित प्रतियोगितामा छात्रतर्फ सेन्ट पौल इङ्गलिस बोर्डिङ , सरस्वती मावि गोछडा, जनता मावि शहिदनगर र छात्रातर्फ जनता मावि सहिदनगर विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

बुधबार छात्रतर्फ सेन्ट पौल इङ्गलिस बोर्डिङका विरुद्ध सहिद स्मृति सामुदायिक माविको पहिलो खेलमा सेन्ट पौल विजयी भएको हो । सेन्ट पौलले सहिद स्मृतिलाई ४-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा सेन्ट पौलका स्मृत महतोले ३ गोल र संकल्प पौडेलले १ गोल गरेका थिए । पहिलो खेलमा सेन्ट पौलका खेलाडी स्मृत महतो म्यान अफ दि म्याच भएका थिए ।

छात्रतर्फ सरस्वती मावि गोछ्डाका विरुद्ध वाइज भिजन बोर्डिङ्ग स्कुलबिचको दोस्रो खेलमा सरस्वती मावि गोछडा ४-० गोल अन्तरले विजयी भएको छ । खेलमा सरस्वती मावि सुगम राना र आशिष कुमालले २/२ गोल गरेका थिए । दोस्रो खेलमा सरस्वती मावि गोछडाका सुगम राना म्यान अफ दि म्याच भएका थिए ।

बुधबार छात्रातर्फ सरस्वती मावी गोछडाका विरुद्ध जनता मावि शहिदनगरबीचको तेस्रो खेलमा जनता मावि २-० गोल अन्तरले विजयी भएको छ । खेलमा जनता माविकी आरती परियारले २ गोल गरेकी थिइन् । तेस्रो खेलमा जनता मावि सहिदनगरकी आरती परियार म्यान अफ दि म्याच भएकी थिइन् ।

बुधबार छात्रतर्फ शिव नमुना माविका विरुद्ध जनता मावि शहिदनगरबीचको खेलमा जनता मावि शहिदनगर ४-० गोल अन्तरले विजयी भएको हो । खेलमा जनता मावि शहिदनगरका सबिन बोटे, सन्दिप परियार, शेरबहादुर परियारले १/१ गोल गरेका थिए । चौथो खेलमा जनता मावि शहिदनगरका सबिन बोटे म्यान अफ दि म्याच भएका थिए ।

छात्रतर्फ १६ वटा विद्यालय र छात्रातर्फ ६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ प्रथम, द्वितीय हुने विद्यालयले क्रमशः ३० हजार र २० हजार रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रतर्फ सेमिफाइनलसम्म पुग्ने विद्यालयलाई ५/५ हजार रुपैयाँँ प्राप्त गर्नेछन् । त्यसै गरि छात्रातर्फ प्रथम र द्वितीय हुने विद्यालयले १० हजार र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रातर्फ सेमिफाइनल पुग्ने विद्यालयले २/२ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा छात्र तथा छात्रातर्फ उत्कृष्ट खेलाडी, डिफेन्स, मिड फिल्डर र गोल रक्षकलाई ट्रफी प्रदान गरिने जनाइएको छ । प्रतियोगिता अन्तरगत बिहीबार छात्रतर्फ शान्ती निकुञ्ज माविका विरुद्ध ज्ञानोदय माविबिच क्वाटर फाइनल खेल हुने र छात्रातर्फ सरस्वती मावि हसौराका विरुद्ध सेन्ट पौल इङ्गलिस बोर्डिङबीच खेल हुने खेल संयोजक सुमन क्षेत्रीले जानकारी दिए ।

Write your Comment