

देवचुली। देवचुली-१७ मा बुधबारदेखि तेस्रो पिप्रहर माघी मेला सुरु भएको छ । पिप्रहर महिला आमा समुहको आयोजना तथा पिप्रहर सामुदायिक होमस्टे ग्रामको सह-आयोजनामा संचालन भएको मेलाको बुधबार देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले समुदघाटन गर्नुभएको हो।

समुदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले होमस्टे मार्फत थारु समुदायको संस्कृति,खानाका परिकारहरु र थारु समुदायसँग सम्बन्धि धेरै कुराहरुको प्रचारप्रसार व्यापक रुपमा भएको बताउनुभयो । `होमस्टेमा बासका लागि टाढा टाढा पाहुनाहरुको आगमन बाक्लो हुँदा राम्रै आयआर्जन भएको विस्वास लिएको छु´ उहाँले भन्नुभयो।
देवचुली नगरपालिका पर्यटनको हिसाबले सम्भावनाको खानी भएकाले पर्यटन प्रवर्द्धनका लागि काम गरिरहेको उहाँले बताउनुभयो । उतरमा नवलपुरकै अग्लो डाँडा देवचुली र दक्षिणमा नारायणी नदीसँगै चितवन राष्ट्रिय निकुञ्ज रहेकाले विश्वकै दुर्लभ एकसिंगे गैंडा लगायतका वन्यजन्तु सहज अवलोकन ,यहाँका प्राकृतिक सौर्न्दर्यहरुले आन्तरिक तथा बाह्रय पर्यटकलाई देवचुली नगरपालिका अवलोकनको गन्तव्य बनाउनका लागि प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।

पिप्रहर महिला आमा समुहको अध्यक्ष चन्द्रमाया महतोको अध्यक्षतामा भएको मेलाको समुदघाटन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि नगर उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, विभिन्न वडाका अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
बुधबारदेखि माघ २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिनसम्म संचालन हुने मेलामार्फत ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न,स्थानीय रैथाने कृषि उत्पादन बढावा दिन,स्थानीय श्रम,सीपको सम्वर्द्धन गर्न,परम्परागत खानाका परिकारहरु बिक्री गरि स्वरोजगारलाई टेवा दिन,आय आर्जन तथा जिविकोपार्जनको विकास गर्न, परम्परागत खेलको संरक्षण गर्न, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा मनोरञ्जन गर्ने मेलाको मुल आयोजक समितिका संयोजक पुर्णकला खोजवारले जानकारी दिनुभयो।

मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय परम्परागत खानाका परिकार बिक्रीका लागि प्रदर्शन,मेला अवधिभर भोदी खेल प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने,विभिन्न उद्योग व्यवसायहरुको उत्पादन बिक्रीका लागि प्रदर्शन,मेलाको अवधिमा होटल,होमस्टे तथा रेष्टुरेन्टहरुमा अग्रिम बुकिङ्ग गरि आउने पाहुनालाई विशेष छुट प्रदान गरिने,मेला अवधिभर जंगल सफारीको लागि अग्रिम बुकिङ्ग गर्नेहरुलाई विशेष छुट दिईने लगायत रहेको मेला आयोजक समितिका सल्लाहकार रिमबहादुर आलेले बताउनुभयो ।
समुदघाटन कार्यक्रममा मेला आयोजक समितिका संयोजक पुर्णकला खोजवारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण सत्यराज अधिकारीले गर्नुभएको थियो।

मेलाको समुदघाटन अघि विभिन्न संघसंस्थाहरुद्वारा गैंडा ताल देखि मेला हुने स्थलसम्म शोभा यात्रा भएको थियोे भने मेलाको समुदघाटन पश्चात् सांस्कृतिक कार्यक्रम भएको थियो । बुधबार सोनी कुश्मीसँगै सपना परियार, अश्मी थापा, टिकीसरा राना, भक्त थापा लगायतले सांगेतिक प्रस्तुति दिएका थिए। त्यसै गरि मेलामा बुधबार महिलाहरुबीच भोदी खेल भएको छ भने बिहीबार पुरुषहरुबीच भोदी खेल प्रतियोगिता हुनेछन् ।