

कावासोती । कावासोती नगरपालिकामा जारी अन्तर विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिता अन्तरगत मंगलबार छात्रतर्फ भएका खेलमा ज्ञानोदय मावि , लुम्बिनी आवासीय मावि र सरस्वती मावि हसौरा विजयी भएका छन् । कावासोती नगर खेलकुद विकास समितिको आयोजना, डायमण्ड युथ सोसाइटीको व्यवस्थापन र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा डायमण्ड युथ सोसाइटीको खेलमैदान, कावासोती-१२ राजमन्दिरमा संचालित प्रतियोगितामा ज्ञानोदय मावि, लुम्बिनी आवासीय मावि र सरस्वती मावि हसौरा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

मंगलबार जनता मावि विष्णुनगरका विरुद्ध ज्ञानोदय माविबीचको पहिलो खेलमा ज्ञानोदय मावि विजयी भएको हो । ज्ञानोदयले जनतालाई ट्राइबेकरमा ६-५ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । पहिलो खेलमा जनता मावि विष्णुनगरका खेलाडी अशोक खनगाहा म्यान अफ दि म्याच भएका थिए ।
जनकल्याण माविका विरुद्ध लुम्बिनी आवासीय माविबिचको दोस्रो खेलमा लुम्बिनी आवासीय मावि ट्राइबेकरमा ४-३ गोल अन्तरले विजयी भएको छ । निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ को बराबरी भएसँगै खेल ट्राइबेकरमा गएको थियो । निर्धारित समयको खेलमा जनकल्याण माविका निरज कुमालले गोल गरेका थिए भने लुम्बिनीबाट रेमन्त गुरुङले गोल गरेका थिए । दोस्रो खेलमा लुम्बिनी आवासीय माविका अर्मान क्षेत्री म्यान अफ दि म्याच भएका थिए ।

मंगलबार नै भएको सरस्वती मावी हसौराका विरुद्ध लर्ड बुद्ध एकेडेमीबीचको तेस्रो खेलमा सरस्वती मावि २-० गोल अन्तरले विजयी भएको छ । खेलमा सरस्वती माविका विपिन परियार र दिवस मगरले १/१ गोल गरेका थिए । तेस्रो खेलमा सरस्वती माविका विपिन परियार म्यान अफ दि म्याच भएका थिए ।
छात्रतर्फ १६ वटा विद्यालय र छात्रातर्फ ७ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ प्रथम, द्वितीय हुने विद्यालयले क्रमशः ३० हजार र २० हजार रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रतर्फ सेमिफाइनलसम्म पुग्ने विद्यालयलाई ५/५ हजार रुपैयाँँ प्राप्त गर्नेछन् । त्यसै गरि छात्रातर्फ प्रथम र द्वितीय हुने विद्यालयले १० हजार र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रातर्फ सेमिफाइनल पुग्ने विद्यालयले २/२ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा छात्र तथा छात्रातर्फ उत्कृष्ट खेलाडी, डिफेन्स, मिड फिल्डर र गोल रक्षकलाई ट्रफी प्रदान गरिने जनाइएको छ । प्रतियोगिता अन्तरगत बुधबार छात्रतर्फ सेन्ट पौल इङ्गलिस बोर्डिङका विरुद्ध सहिद स्मृति सामुदायिक मावि, सरस्वती मावि गोछ्डाका विरुद्ध वाइज भिजन बोर्डिङ्ग स्कुल, शिव नमुना माविका विरुद्ध जनता मावि शहिदनगर र छात्रातर्फ सरस्वती मावि गोछडाका विरुद्ध जनता मावि शहिदनगरबीच खेल हुने खेल संयोजक सुमन क्षेत्रीले जानकारी दिए ।