आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

देवचुली- १७ मा आजदेखि तेस्रो पिप्रहर माघी मेला

    प्रकाशित २०८२ पौष ३०, बुधबार (४ हफ्ता अघि)


देवचुली। देवचुलीमा आजदेखि तेस्रो पिप्रहर माघी मेला सुरु हुँदैछ । पिप्रहर महिला आमा समुहको आयोजना र पिप्रहर सामुदायिक होमस्टे ग्राम सह-आयोजनामा संचालन हुने मेलाको आज बुधबार बिहान ११: ३० बजे देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आजदेखि माघ २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिनसम्म तेस्रो माघी मेला संचालन गर्न लागिएको हो । कार्यक्रम समुदघाटन पुर्व बिहान ११ बजे शोभयात्रा सुरु हुने आयोजकले जनाएको छ ।

ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न,स्थानीय रैथाने कृषि उत्पादन बढावा दिन,स्थानीय श्रम,सीपको सम्वर्द्धन गर्न,परम्परागत खानाका परिकारहरु बिक्री गरि स्वरोजगारलाई टेवा दिन,आय आर्जन तथा जिविकोपार्जनको विकास गर्न, परम्परागत खेलको संरक्षण गर्न, स्थानीय कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मेला मुल आयोजक समितिका संयोजक पुर्णकला खोजवारले जानकारी दिनुभयो । तीनसम्म संचालन हुने मेलामा राष्ट्रिय कलाकार शिरीष देवकोटा, दिपक खडका, मन्जु बिक, रुद्र सेन र सीता परियारको विशेष प्रस्तुति रहनेछ भने स्थानीय कलाकार सपना परियार, दुर्गा सापकोटा, प्रकाश खरेल, टिकीसरा राना,भक्त थापा, सानू पुलामी,अस्मि थापा, संजय देवकोटा लगायतका कलाकारहरुको सांगेतिक प्रस्तुति रहनेछ ।

मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय परम्परागत खानाका परिकार बिक्रीका लागि प्रदर्शन, मेला अवधिभर महिला/पुरुष भोदी खेल प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने, विभिन्न उद्योग व्यवसायहरुको उत्पादन बिक्रीका लागि प्रदर्शन,मेलाको अवधिमा होटल,होमस्टे तथा रेष्टुरेन्टहरुमा अग्रिम बुकिङ्ग गरि आउने पाहुनालाई विशेष छुट प्रदान गरिने, मेला अवधिभर जंगल सफारीको लागि अग्रिम बुकिङ्ग गर्नेहरुलाई विशेष छुट दिईने लगायत रहेको मेला आयोजक समितिका सल्लाहकार रिमबहादुर आलेले बताउनुभयो ।

मेलामा व्यवसायीद्वारा स्थानीय तथा परम्परागत खानाका स्टलहरु राख्ने व्यवस्था मिलाइएको छ । मेलाको सम्पुर्ण तयारी सकिएको र उदघाटन पश्चात खेलहरुसँगै सांस्कृतिक कार्यक्रम सुरु हुने आयोजकले बताए ।

Write your Comment