

नवलपुर। नवलपुरमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा सहकारीमार्फत सञ्चालन भइरहेका कार्यक्रमहरूको छड्के अनुगमन गरिएको छ। नेपाल सरकारको युवा तथा खेलकूद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले कोषका उपाध्यक्ष अनिलराज पौडेलको प्रमुख उपस्थितिमा नवलपुर जिल्लाका विभिन्न सहकारी र स्वरोजगार उद्यमीहरूको कार्यक्रम अवलोकन गरिएको हो।
अनुगमनको क्रममा कावासोती–८ मा रहेको कावासोती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कावासोती–१५ बाघखोरमा रहेको हाम्रो दिगो गाउँ पर्यटन सहकारी संस्था लिमिटेड मार्फत सञ्चालनमा रहेका स्वरोजगार कार्यक्रमहरूको अवस्था निरीक्षण गरिएको थियो । पौष २८ गते कावासोती–अमलटारीमा सम्पन्न उक्त अनुगमन कार्यक्रममा सहकारीमार्फत लगानी गरिएका उद्यम, व्यवसाय सञ्चालनको अवस्था र उपलब्धिहरूबारे जानकारी संकलन गरिएको थियो। कार्यक्रम सफल बनाउन सहजिकरण र सहकार्यमा योगदान पुर्याएकोमा कावासोती सहकारी सञ्जाल नवलपुरका अध्यक्ष कृष्णराज सिग्देल प्रति विशेष आभार व्यक्त गरिएको छ।
युवा स्वरोजगार कोष नवलपुरका सदस्य सचिव प्रितम भुजेलका अनुसार, यस्ता अनुगमनहरूले स्वरोजगार कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।