

कावासोती । कावासोती नगरपालिकामा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । कावासोती नगर खेलकुद विकास समितिको आयोजना, डायमण्ड युथ सोसाइटीको व्यवस्थापन र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा डायमण्ड युथ सोसाइटीको खेलमैदान, कावासोती-१२ राजमन्दिरमा संचालित प्रतियोगिताको सोमबार जिल्ला खेलकुद विकास समिती नवलपुरका अध्यक्ष सेतबहादुर पुनले समुदघाटन गर्नुभएको हो ।

कावासोती नगर खेलकुद विकास समितिका उपाध्यक्ष तिर्सन घर्तीको अध्यक्षतामा भएको प्रतियोगिताको समुदघाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिती नवलपुरका अध्यक्ष सेतबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा वडा सदस्यहरु, विद्यालयका प्रतिनिधि लगायत कावासोती खेलकुद विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्तरगत शान्ति निकुञ्ज माविका विरुद्ध समता शिक्षा निकेतनबीचको उदघाटन खेलमा शान्ति निकुञ्ज मावि विजयी भएको छ । शान्ति निकुञ्ज माविले समतालाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा दुवै टिमबाट १/१ को बराबरी भएसँगै खेल ट्राइबेकरमा गएको थियो । निर्धरित समयको खेलमा शान्ति निकुञ्ज माविका सन्देश महतोले गोल गरेका थिए भने समता शिक्षा निकेतनका अभिषेक नेपाली गैरेले गोल गरेका थिए । खेलमा शान्ति निकुञ्ज माविका सन्देश महतो म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगिता अन्तरगत सोमबार भएको दोस्रो खेलमा नवलपुर एकेडमी विजयी भएको छ । नवलपुर एकेडेमीका विरुद्ध जनता मावी मगरकोटबीच भएको खेलमा नवलपुर एकेडमीले जनता माविलाई ३-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा पुगेको हो । खेलमा नवलपुर एकेडेमीका युवराज श्रेष्ठ, सुदीप श्रेष्ठ र सम्मान थनेतले १/१ गोल गरेका थिए । दोस्रो खेलमा नवलपुर एकेडेमीका गौरव श्रेष्ठ म्यान अफ दि म्याच भएका थिए ।
छात्रतर्फ १६ वटा विद्यालय र छात्रातर्फ ७ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ प्रथम, द्वितीय हुने विद्यालयले क्रमशः ३० हजार र २० हजार रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रतर्फ सेमिफाइनलसम्म पुग्ने विद्यालयलाई ५/५ हजार रुपैयाँँ प्राप्त गर्नेछन् । त्यसै गरि छात्रातर्फ प्रथम र द्वितीय हुने विद्यालयले १० हजार र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रातर्फ सेमिफाइनल पुग्ने विद्यालयले २/२ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा छात्र तथा छात्रातर्फ उत्कृष्ट खेलाडी, डिफेन्स, मिड फिल्डर र गोल रक्षकलाई ट्रफी प्रदान गरिने जनाइएको छ । प्रतियोगिता अन्तरगत मंगलबार जनता मावि विष्णुनगरका विरुद्ध ज्ञानोदय माविबीच पहिलो खेल, जनकल्याण मावि रिठ्ठेपानीका विरुद्ध लुम्बिनी आवासीय माविबिच दोस्रो खेल र सरस्वती नमुना मावि हसौराका विरुद्ध लर्डबुद्ध एकेडेमीबिच तेस्रो खेल हुने खेल संयोजक सुमन क्षेत्रीले जानकारी दिनुभयो ।