आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

मध्यबिन्दु-८ मा बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

    प्रकाशित २०८२ पौष २८, सोमबार (१ महिना अघि)


नवलपुर । मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ मा वडास्तरीय बाल क्लबका पदाधिकारीहरू लगायत बालबालिकाहरुलई बाल क्लबका पदाधिकारीहरू र बालबालिकाहरूलाई लक्षित गरी बाल अधिकार, किशोरी अधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मध्यबिन्दु-८,स्थित लोहोसेधारा सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा सम्पन्न भएको हो। जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग तथा जिल्ला प्रहरी कार्यालय र मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ को समन्वयमा कार्यक्रम सञ्चालन गरिएको थियो।


कार्यक्रममा वडा स्तरीय बाल क्लबकी उपाध्यक्ष समिक्षा कुमालको सभाध्यक्षता रहेको कार्यक्रममा मध्यविन्दु-८ का वडा अध्यक्ष पर्शुराम महत्तोको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाकी सिनियर कार्यक्रम अधिकृत राधादेवी बोटेले कार्यक्रमको उद्देश्य, किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा, पालिका, विद्यालय र समुदायमा भइरहेका गतिविधिहरू तथा बालमैत्री स्थानीय शासन अभियानको महत्वबारे सहभागीहरूलाई स्पष्ट पार्नुभयो।

यसैगरी, साथी शिक्षक अनिसा पौडेलले बाल अधिकारको अवधारणा, किशोरी अधिकार सम्बन्धि जानकारी दिनुभयो। साथै, साथी शिक्षक ऋतु घर्तीले बाल क्लबको परिचय, बाल क्लबले विद्यालय, समुदाय र वडामा गर्न सक्ने काम, सरोकारवालासँग समन्वय गर्ने तरिका ,तथा बालबालिकाको समस्या समाधानका लागि पहल गर्ने प्रक्रियाबारे प्रकाश पार्नुभयो।


कार्यक्रमका प्रमुख अतिथि पर्शुराम महत्तोले कार्यक्रमलाई महत्वपूर्ण रुपमा लिदै सहभागि हरुलाई सिकेको कुरालाई जिवनमा उतार्न आग्रह गर्नुभयो। उहाँले अहिले बालश्रम, बालशोषण जस्ता समस्या बढ्दै गइरहेकाले समस्या परेको बेला समन्वय गर्न उपलब्ध हटलाइन नम्बरहरूमा सम्पर्क गर्न सकिने आग्रह गर्नुभयो।

कार्यक्रममा उपस्थित वडा सदस्य सुन्दर प्रसाद देवकोटाले कार्यक्रममा सिमित बालबालिकाले मात्र उपस्थित हुने अवसर पाएकाले उपस्थित सम्पूर्ण सहभागि हरुलाई सिकेका कुराहरूलाई आफुमा मात्रा सिमित नराखि समुदायका अन्य बालबालिकाहरुलाई समेत सिकाउन आग्रह गर्नुभयो। उहाँले मध्यबिन्दु नगरपालिका भित्रमा ८ नं वडालाई पहिलो बालमैत्री वडा बनाउन आफू लागिरहेको समेत जानकारी दिनुभयो।


यस्तै तरेनि टोल विकास संस्था अध्यक्ष पाण्डव बहादुर रायमाझीले समाजमा हत्या, हिंसा जस्ता अपराधहरु बढिरहेको अवस्थामा बालबालिकाहरुलई आफ्नो कर्तव्य र अधिकारको बोध गराएकोमा संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। किशोरी सशक्तिकरण कार्यक्रमका साथी शिक्षकहरु निर्मला नेपाली र समिक्षा कुमालले ३० जना साथि शिक्षकहरुले सिकेका र गर्दै आइरहेका कामहरुको बारेमा सहभागी हरुलाई जानकार गराएका थिए। कार्यक्रमका क्रममा सहभागी बालबालिकालाई बाल अधिकार तथा बालबालिका सम्बन्धी कानुनी जानकारीका पुस्तकहरू वितरण गरिएको थियो। कार्यक्रममा बालबालिका, शिक्षक, जनप्रतिनिधि लगायत साथी शिक्षक गरी ५६ जनाको सहभागिता रहेको थियो।

Write your Comment