आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

महाराजा सामुदायिक वनको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

    प्रकाशित २०८२ पौष २७, आईतबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर-१५ मा रहेको महाराजा सामुदायिक वन उपभोक्ता समूहको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । देवचुली- १०,११, १४ र १५ कार्यक्षेत्र पर्ने वनको कार्यालयमा शनिबार साधारणसभा गरिएको हो।

महाराजा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गनबहादुर रानाको अध्यक्षतामा भएको साधारणसभामा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली-१० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली-१४ का वडा अध्यक्ष गोपाल थापा, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको विशेष उपस्थिति रहेको थियो।


साधारसभाबाट समुहका अध्यक्ष गनबहादुर रानाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना तथा प्रगति प्रतिवेदन, लेखा संयोजक कमलप्रसाद न्यौपानेले प्रस्तुत गरेको लेखा प्रतिवेदन, कोषाध्यक्ष कमला भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरिएको आयोजकले जनाएको छ । साधारणसभाको बन्द सत्रमा कटान सदुपयोग, विपन्न तथा असहाय उपभोक्ताका लागि सहुलियत दरमा काठ दाउरा वितरण गर्ने ,चौंथो अधिवेशनका लागि निर्वाचन समिति गठन, दोस्रो देवचुली गोल्डकपमा सहयोग गर्ने लगायतका विषयमा छलफल गरि निर्णय गरिएको महाराजा सामुदायिक वन उपभोक्ता अध्यक्ष गनबहादुर रानाले जानकारी दिनुभयो । बन्दसत्रमा जयनारायण सापकोटाको संयोजकत्वमा जीवन श्रेष्ठ, भविश्वर लम्साल, रामप्रसाद गौतम र रन्जना सापकोटा न्यौपाने सदस्य रहेको निर्वाचन समिति गठन गरेको हो ।


साधारण सभाको खुला सत्रमा बोल्ने अधिकांश व्यक्तिहरुले वनले उपभोक्ताको हितमा रहेर सामाजिक गतिविधि गर्नुपर्ने, वन संरक्षणमा सबैको सहकार्य हुनुपर्ने लगायतका विषयमा भनाई राख्दै वनलाई आगामी कार्ययोजनामा सफलता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। साधारणसभामा विभिन्न सामुदायिक वनका अध्यक्षहरु, संघसंस्थाका प्रतिनिधिहरु,वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो । महाराजा सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष टीकाराम पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारणसभाको शोभा रानाले सहजीकरण गर्नुभएको थियो।

Write your Comment