आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

पाँचौं देवचुली मेयर कप फुटबल प्रतियोगिताको उपाधी देवचुली- १ लाई

    प्रकाशित २०८२ पौष २७, आईतबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित पाँचौं देवचुली मेयर कप फुटबल प्रतियोगिताको उपाधी देवचुली-१ ले जितेको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद विकास समिति देवचुली-१ को सह आयोजनामा देवी गैरा खेलमैदान देवचुली-१ मा भएको फाइनल खेलमा देवचुली-१ ले उपाधी जितेको हो ।

प्रतियोगिता अन्तरगत शनिबार देवचुली- १ का विरुद्ध देवचुली- १५ बिच भएको फाइनल खेलमा देवचुली-१ ले देवचुली- १५ लाई २-० गोल अन्तरले हराउँदै उपाधी आफ्नो पक्षमा पारेको हो । खेलमा देवचुली-१ का गगन महतो र निशान्त महतोले १/१ गोल गरेका थिए । खेलमा देवचुली- १ का निशान्त महतो म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगिता बिजेता देवचुली-१ ले १ लाख ११ हजार १११ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप- बिजेता देवचुली-१५ ले ५१ हजार १११ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । त्यसै गरि सेमिफाइनल पुग्ने देवचुली-७ र देवचुली-११ ले १५/१५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा देवचुली-१५ का खेलाडी सामएल थापा उत्कृष्ट खेलाडी, देवचुली-१ का खेलाडी सन्दिप मल्ल सर्वाधिक गोलकर्ता र देवचुली- १ का गोलरक्षक सिसन महतो सर्वोकृष्ट गोलरक्षक भएका थिए । देवचुली नगरपालिका भित्रका १५ वडाका १६ टिमबीच प्रतिष्पर्धा रहेको थियो ।

देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न संघसंस्थाक प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । वडा युवा तथा खेलकुद विकास समिति, देवचुली-१ का अध्यक्ष प्रदीप काफ्लेलेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश काफ्लेले गरेका थिए । प्रतियोगिताको सागर डिस्टिलरी मुख्य प्रायोजक साथै दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह र केउरानी युवा क्लब विशेष सहयोगी रहेका छन् ।

Write your Comment