आज:  २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026 Search
FLASH NEWS

देवचुलीमा बौलाहा खोलाको नदीजन्य पदार्थ उत्खननबारे सार्वजनिक सुनुवाई सम्पन्न

    प्रकाशित २०८२ पौष २१, सोमबार (२ हफ्ता अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिकामा बौलाहा खोलाबाट नदीजन्य पदार्थ (ढुंगा, गिट्टी र बालुवा) उत्खनन तथा संकलन कार्य अघि बढाउने सन्दर्भमा प्रारम्भिक वातावरणीय परीक्षण (आई.ई.ई.) प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार बौलाहा खोलास्थित कालिका शिवधाम परिसरमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, सरोकारवाला निकायका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागितामा सार्वजनिक सुनुवाइ गरिएको हो ।

देवचुली नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा नदीजन्य पदार्थ उत्खनन गर्दा पर्ने सम्भावित वातावरणीय, सामाजिक तथा भौतिक प्रभावका विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलमा उत्खनन कार्यमा स्थानीय बासिन्दा तथा प्रभावित क्षेत्रका नागरिकले सार्वजनिक सुनुवाई कार्यक्रममा खोलाको दुवै किनारतर्फ पक्की तटबन्धन निर्माण गरी वर्षायाममा हुन सक्ने जोखिमलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने, उत्खननका कारण प्रभावित क्षेत्रका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने, स्थानीय विकास निर्माणका कामहरूमा प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने, उत्खनन तथा ओसार–पसारका क्रममा नदीजन्य पदार्थबाट निस्कने धुलो नियन्त्रणका लागि आवश्यक व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने माग गरेका हुन् । स्थानीय सरोकारवालाहरूले अवैध तथा अव्यवस्थित उत्खननका कारण खोलाको कटान, वातावरणीय क्षति र भौतिक संरचनामा जोखिम बढ्ने भएकाले वैधानिक प्रक्रिया मार्फत मात्र उत्खनन कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

नगरपालिकाले वातावरणीय सन्तुलन कायम गर्दै नदीजन्य पदार्थको दिगो र व्यवस्थित व्यवस्थापन गर्न प्रारम्भिक वातावरणीय परीक्षण आवश्यक रहेको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा संकलित राय, सुझाव तथा निर्णयहरूलाई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरी उत्खनन प्रक्रिया कानुनी, पारदर्शी र व्यवस्थित रूपमा अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले खोला नजिक रहेको खानेपानीको संरचनामा खोला पस्ने सम्भावना भएर नगरपालिकामा नदीजन्य पदार्थ उत्खननका लागि अनुरोध गरिएको बताउनुभयो । सार्वजनिक सुनुवाइमा बोल्दै देवचुली-१२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलले खोलाबाट प्रभावित क्षेत्रका वडाबासीको अनुरोधमा खोलामा संचित भएको नदीजन्य पदार्थलाई उत्खननका लागि माग भएकोले खोलालाई व्यवस्थित गराई क्षती न्यूनीकरणका लागि नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण गर्न लागेको र उक्त प्रतिवेदनका आधारमा नियम अनुसार नदीजन्य पदार्थ उत्खनन् गरिने बताउनुभयो । उत्खननबाट आउने बजेट प्रभावित क्षेत्रमा नै खर्च गरिने समेत उहाँले बताउनुभयो । आफू पनि खोलाबाट प्रभावित भएको बताउँदै उहाँले सबैको प्रयासले खोलाबाट हुने क्षतिको न्यूनीकरण गर्न सकिने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी गरिरहेका नारायणी ट्रेनिङ्ग एण्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक राजन सापकोटाले अहिलेसम्म प्रतिवेदन तयारीका क्रममा गरिएका कार्यहरु र सरोकारवालासँग सार्वजनिक सुनुवाइ पश्चात् प्रतिवेदनमा सबै कुराहरु समेटिने बताउनुभयो । देवचुली नगरपालिकाका इन्जिनियर टिकाराम बस्यालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Write your Comment