

देवचुली । देवचुली नगरपालिकामा ‘घरमा शून्य सुत्केरी’ अभियानअन्तर्गत गर्भवती सचेतना कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा देवचुली नगर अस्पतालमा आयोजित कार्यक्रममा गर्भावस्थामा अपनाउनुपर्ने सावधानी, सुरक्षित सुत्केरी सेवा, पोषण, नियमित स्वास्थ्य परीक्षण तथा संस्थागत सुत्केरीको महत्वबारे जानकारी दिइएको थियो।

देवचुली नगरपालिका भित्रका सबै सुत्केरी हुने महिलाहरुलाई सुविधा सम्पन्न नेपाल सरकारले तोकेको वर्थिङ्ग सेन्टरमा सुत्केरी भएको एकिन गर्ने, घरमा शून्य सुत्केरी भएको एकिन गर्ने,सुत्केरी अवस्थामा हुने सम्भावित जटिलता हुन नदिने, यदि भएमा उपचारको व्यवस्था र सहजीकरण गर्ने, स्वास्थ्य सेवा प्रदायक तथा सेवाग्राहीलाई यस बारेमा अझ विस्तृत जानकारी गराउने उद्देश्यले देवचुली-१, २, ३ र ५ का गर्भवती महिलाहरुलाई नगर अस्पतालको हलमा सचेतना कार्यक्रम गरिएको देवचुली नगरपालिका सिनियर अहेव अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिनुभयो । देवचुली नगरपालिकाका अन्य वडामा समेत सचेतना कार्यक्रम संचालन गर्ने र सबै वडामा भएका गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी हुनका लागि प्रेरित गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी गर्भवती महिलालाई आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्ने आवश्यकता बारे सचेत गराइएको नगरपालिकाले जनाएको छ। घरमै हुने जोखिमपूर्ण सुत्केरीलाई शून्यमा झार्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको र यसले मातृ तथा शिशु मृत्युदर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा डा.रश्मि सापकोटा र हरिमाया श्रेष्ठले गर्भावस्थामा देखिन सक्ने जटिलता, समयमै स्वास्थ्य जाँचको आवश्यकता र सरकारी स्वास्थ्य सेवाबाट उपलब्ध निःशुल्क सेवाबारे समेत जानकारी गराएका थिए। कार्यक्रममा देवचुली नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा गर्भवती महिलाहरूको उपस्थिति रहेको थियो।
