

नवलपुर । सरल नेपालले राष्ट्रियस्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिताबारे आइतबार पिप्रहर सामुदायिक होमस्टेमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पादन गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको लायन्स क्लब ३२५ आर, क्लस्टर ३ प्रस्तुतिमा मंसिर २९ गतेबाट सञ्चालन हुनेछ ।

१५ देखि २९ वर्ष उमेर समूहका युवाहरू लक्षित प्रतियोगिता पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। प्रतियोगिता तीन चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ। पहिलो चरण खुला रहनेछ र सहभागीहरूले आफूले रोजेको कुनै पनि विषयमा भिडियो प्रस्तुति दिन सक्नेछन् । पहिलो चरणबाट उत्कृष्ट २० प्रतियोगी छनोट गरिनेछ। दोस्रो चरणमा आयोजकले प्रदान गरेको शीर्षकमा आधारित भएर भिडियो तयार गरी पठाउनुपर्नेछ। ती भिडियोहरू सरल नेपालको फेसबुक पेजमा सार्वजनिक गरिनेछन्, जहाँ ५० प्रतिशत सामाजिक सञ्जालमा देखिएको लोकप्रियता र ५० प्रतिशत निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा उत्कृष्ट ५ प्रतियोगी छनोट गरिनेछ । फाइनलका लागि छनोट भएका ५ प्रतियोगीहरुको भौतिक उपस्थितिमा २०८२ साल माघ ४ गते नवलपुरको देवचुली नगरपालिका–१७ स्थित पिप्रहर सामुदायिक होमस्टेमा समापन गरिने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

अनलाइन सार्वजनिक वक्तृत्वकला’ कार्यक्रममा डिजिटल पार्टनरका रूपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनर जन अपडेट तथा ह्याप्पी एफ.एम., र सहकार्य साझेदार लियो क्लब अफ चितवन ग्रिन रहेका छन्। साथै, कार्यक्रम व्यवस्थापन साझेदार मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरू युवा पहल: लुम्बिनी प्रदेश, युवा अभियान नेपाल, सामुदायिक विकास फाउण्डेशन नेपाल, मेडिकल पार्टनर जीवन सिटी अस्पताल प्रा.लि., कावासोती, अन्तर्राष्ट्रिय शिक्षा साझेदार लेड्रा कलेज, शिक्षा साझेदार लर्ड बुद्ध एकेडेमी अफ स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्ट, परामर्श साझेदार निप्पोन एजुकेशनल सेन्टर तथा फार्मेसी साझेदार एसियन फार्मेसी रहेका छन्।