आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरणका लागि नीति संवाद कार्यक्रम देवचुलीमा सम्पन्न

    प्रकाशित २०७९ चैत्र ८, बुधबार (१ साल अघि)


देवचुली।वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरण कार्यमूलक अनुसन्धान परियोजनाको “नीति संवाद कार्यक्रम सोमबार देवचुलीमा सम्पन्न भएको छ।

“वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरण” कार्यमूलक अनुसन्धान परियोजना इन्टरनेसनल डेभेलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोग र फरेष्टएक्सन नेपाल सहित हिमवन्ती नेपाल, पारिवारिक नीजि वन संघ र वन पैदावार उद्योग व्यवसायी महासंघको साझेदारीमा २०७८ असोजबाट कार्यान्वयन भैरहेको छ। सिन्धुपाल्चोक जिल्लाका दुई पालिका र नवलपरासी बसुपूर्वका दुई पालिका गरि दुई जिल्लाका चार पालिकाहरुमा यो परियोजना २०८० चैतसम्म कार्यान्वयन हुनेछ।

वनमा आधारित उद्यमहरु मार्फत महिलाहरुको आर्थिक सशक्तिकरणका लागि उनीहरुको नेतृत्वदायी भूमिका, दिगो आयआर्जन, जलवायु परिवर्तनका जोखिमबाट सुरक्षित हुँदै सामाजिक, आर्थिक, पर्यावरणीय उत्थानशीलता र वन संरक्षणमा निर्णायक भूमिकामा उभ्याउन यो परियोजना लागू गरिएको हो।
यस परियोजनाबाट महिलाहरुमा उनीहरुको पहिचान र गरिमा, अन्तरविच्छेदन, स्वामित्व र रुपान्तरणमा समान सहभागिता गराउने उद्देश्यले कार्यमूलक अनुसन्धानको प्रारुप तयार पारिएको कन्चन लामाले जानकारी दिइन्।

देवचुली नगरपालिकामा रहेका महिला र उद्यम सम्बन्धि नीति,नियम तथा प्रावधानका बारेमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले प्रकाश पारेका थिए। देवचुली नगरपालिकामा महिलाहरुका लागि विनियोजन गरेका बजेटहरु,नीति तथा कार्यक्रमहरुको बारेमा जानकारी दिदै देवचुली नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न महिलाहरुका लागि लघु उद्यम संचालन गर्ने उनले बताए । महिलाहरू सशक्तीकरण लागि पालिकाबाट निती तथा नियम गराई कार्य गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

वनमा आधारित उद्यम विकासका लागि अवसर र चुनौतीका बारेमा डिभिजन वन कार्यालय, नवलपुरका प्रमुख मोहनराज काफ्लेले प्रकाश पारेका थिए। वनमा आधारित उद्यमका लागि योजना तथा कार्यक्रम र बार्षिक बजेटको व्यवस्था रहेको,सरकारको प्राथमिकता रहेको,गैरसरकारी संस्थाको क्रियाशिलता, कच्चा पदार्थको उपलब्धता रहेकाले निकै नै अवसर रहेको उनले बताए । वन पैदावार ओसारपसार गर्नुपर्दा सामुदायिक वन ऐन २०७६को प्रावधान अनुसार गर्नुपर्छ। कानूनी परामर्शको लागि वन कार्यालय तयार छ। त्यसमा डिभिजन वन कार्यालयले सकेसम्म उद्यमीहरुलाई सहजीकरण गर्नेछ। ” काफ्लेले भने।

वनबाट कच्चा पदार्थ संकलन गर्ने भएकाले वनको व्यवस्थापनमा पनि उपभोक्ता उद्यमीहरुले ध्यानदिनुपर्ने कुरामा सजग गराएका थिए। प्रचलित अन्तराष्ट्रिय कानूनको पालना गर्न र सामुदायिक वन ऐन २०७६ लाई ध्यानमा राखेर तोकिएको राजस्व बुझाई आएमा डिभिजन वन कार्यालयले उद्यमीहरुलाई कुनै रोकतोक नगर्ने समेत काफ्लेले प्रष्ट पारे।

कार्यक्रममा महिलाहरुको स्वामित्व तथा नेतृत्वमा वनमा आधारित उद्यम संचालन सम्बन्धि नीति नियम तथा प्रावधानहरुका बारेमा पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले प्रकाश पारेका थिए भने महिला उद्यमीका लागि कर्जा प्रवाहको व्यवस्थाको बारेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दलदलेका शाखा प्रबन्धक अरुण पन्डितले प्रकाश पारेका थिए।

नीति संवादमा उद्यमी महिलाहरूले सहजकर्ताहरु सँग विभिन्न प्रश्नहरु सोध्दै त्यसको बारेमा जानकारी प्राप्त गरेका थिए । नीति संवाद कार्यक्रमको संचालन पारिवारिक निजी वनकी गंगा न्यौपानेले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले देवचुली नगरपालिकामा वन ऐन निर्माण भएको र वनबाट उद्यमशिल बन्ने महिलाहरुलाई व्यवसाय संचालनका लागि नगरपालिकाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।देवचुली नगरपालिकामा थाकलबाट उत्पादित सामान बनाउने तालिम लिएका महिलाहरुलाई आवश्यक तालिम दिने र उनीहरुले उत्पादन गरेका सामग्री पालिकाले नै खरिद गर्ने तयारी गरेको तिवारीले बताइन् । महिला उद्यमीहरुले सिकेको सीपको भरपुर उपयोग गर्न आग्रह गरेकी थिइन्।महिलाहरुलाई उद्यमशील बनाउनका लागि नगरपालिकाले योजना निर्माण गर्दै आवश्यक बजेट विनियोजन गर्ने
उनले बताइन् ।

पारिवारिक नीजि वन संघकी केन्द्रिय सदस्य सीता भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवचुली वडा न ७ का अध्यक्ष भुमिसरा आले,देवचुली वडा न ९ का अध्यक्ष बलिराम सापकोटा,फेकोफन जिल्ला अध्यक्ष ठाकुरप्रसाद पाण्डे ,पारिवारिक निजी वन संघ नवलपुरका अध्यक्ष हुमनाथ पाण्डे ,वन उपभोक्ता समितिका पदाधिकारी लगायत उद्यमी महिलाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा फरेस्ट एक्सन नेपालको वरिष्ठ अन्वेषक डा. सृजना बरालले कार्यक्रम प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमलाई सहजीकरण कलम भण्डारीले गरेका थिए।

Write your Comment